Shittalpati
गुल्मीमा अर्को पिसीआर मेसिन ल्याई कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन

रमेश विश्वकर्मा

गुल्मी । जिल्लामा कोभिड–१९ परीक्षण प्रयोगशालाको उद्घाटन गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका ९ को उपल्लो तम्घासमा निर्माण गरिएको कोभिड–१९ परीक्षण प्रयोगशालाको नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । दुई महिनाअघि परराष्ट्रमन्त्री ज्ञवालीकै पहलमा हिमालय एयरलायन्सले गुल्मीमा निःशुल्क पिसिआर मेशिन उपलब्ध भए पनि मेसिनका लागि आवश्यक सामग्री नभएपछि गत महिना फिर्ता पठाइएको थियो । उक्त मेसिन फिर्ता पठाइएपछि पुनःअर्को ल्याइएको हो । रेसुङ्गा नगरपालिकाको व्यवस्थापकीय सहयोगमा पिसिआर मेसिन यसै सातादेखि सञ्चालनमा ल्याउने गरी प्रयोशालाको उद्घाटन गरिएको छ ।

प्रयोगशालाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले कोरोनासँग जुध्ने र अर्थतन्त्रलाई चलायमान बनाएर कोरोना संकटलाई पार लगाउन सरकारले नयाँ ढंगबाट काम सुरु गरेको बताएका छन् । उनले ६ महिनासम्मको लकडाउनले मुलुकको अर्थतन्त्र डुब्न थालेकाले निषेधाज्ञा हटाइएको बताए । अबको लडाइँ चुनौतीपूर्ण भएको भन्दै मन्त्री ज्ञवालीले लामो समय लकडाउन सम्भव नरहेको बताए । उनले भने ‘अब सबैले आ–आफ्नो ठाउँबाट सचेत भएर कोरोनासँगको लडाइँमा विजय प्राप्त गरी पुरानै अवस्थामा फर्काउनु पर्छ ।’ सरकारले यस अवधिमा कोरानाको बारेमा चेतना अभिवृद्धि गर्ने काम गरेकाले सामाजिक दुरी कायम गरी हरेक गतिविधि सञ्चालन गरी जोगिएर काम गर्न उनले सर्वसाधारणलाई आग्रह गरे । अब स्वास्थ्य पनि जोगाउनुपर्ने र अर्थतन्त्र पनि बलियो पानुपर्ने चुनौतीलाई सामान गरेर अघि बढ्नुपर्ने बेला आएको मन्त्री ज्ञवालीले बताए ।

 

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update