Shittalpati
तिनाउमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा

पाल्पा । तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य चौकीबाट चौबीसै घण्टा प्रसुती सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् । घरमै सुत्केरी हुँदा आमा तथा शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले नेपाल सरकारले घरमा सुत्केरी हुनेहरुलाई शून्य संख्यामा झारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा प्रसूति गराउन प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । वडाका स्वास्थ्य चौकीबाट बर्थिङ सेन्टर र प्रयोगशाला स्थापना गरी स्वास्थ्यमा नागरिकको सहज पहुँच विस्तार गर्न थालिएको उनले बताए । प्रदेश सभा सदस्य तुलाराम घर्तीले बर्थिङ सेन्टर र प्रयोगशालाको उद्घाटन गरेपछि दुवै सेवा सञ्चालनमा आएका हुन । सो अवसरमा प्रदेश सभा सदस्य घर्तीले बर्थिङ सेन्टर र प्रयोगशाला स्थापनाले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच विस्तार भएको बताए ।

प्रदेश सरकारको १० लाखको लगानीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रसुती सेवा उपलब्ध हुन थालेपछि सामान्य औषधि उपचार र प्रसुतीका लागि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले संस्थागत प्रसुती सेवा सञ्चालनले गर्भवती तथा सुत्केरी महिलालाई सहज हुने विश्वास व्यक्त गरिन् । उनले अनिवार्य रुपमा स्वास्थ्य संस्थामै प्रसुती सेवा लिन महिलालाई अनुरोध गरिन् । तिनाउ गाउँपालिका–२ का अध्यक्ष एवं स्वास्थ चौकी व्यवस्थापन समितिका संयोजक राजेश श्रेष्ठले स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा लिन सबै नागरिकलाई अनुरोध गरे । यो स्वास्थ्य संस्थाबाट तिनाउ गाउँपालिकाको मस्याम, झुम्सा, सत्यवती क्षेत्रका महिलाले प्रसुती सेवा लिने वडाध्यक्ष श्रेष्ठले बताए । –रासस

प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update