Shittalpati
पाल्पामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि

पाल्पा । जिल्लामा थप स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा कार्यरत पाँच जना र एक जना विरामीमा कोरोना पोजेटिभ देखिएको हो । लुम्विनी मेडिकल कलेज प्रभासमा कार्यरत दुई जना स्टाफ नर्समा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै मिसन अस्पतालमा कार्यरत एक जना स्टाफ सहित दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । एक जना चिकित्सक, अनमी र स्टाफलाई कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै स्वास्थ्य कार्यालयका अनुसार मिसन अस्पतालमा उपचाररत एक जना पुरुष विरामीमा पनि संक्रमण देखिएको छ । संक्रमित सबै स्वास्थ्यकर्मीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालहरुले जनाएका छन् । जिल्लामा अहिलेसम्म सात जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस अघि पाल्पा अस्पतालका एक जना, बगनासकाली गाउँपालिकाका एक, लुम्विनी मेडिकल कलेजमा कार्यरत एक र रम्भा गाउँपालिकाका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको थियो । पाल्पामा हालसम्म समुदायस्तरका ८३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५ जना जनप्रतिनिधि रहेका छन् । जिल्लामा अहिलेसम्म कुल संक्रमितको संख्या ६ सय ६६ पुगेको छ । संक्रमित मध्ये ५ सय ७७ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update