Shittalpati
पाल्पामा आइतबार स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि

पाल्पा । जिल्लामा एक स्वास्थ्यकर्मी सहित दुई जनामा कोरोना पुष्टि भएको छ । आईतबार भैरहवा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पाल्पा अस्पतालका एक जना स्वास्थ्यकर्मी र रैनादेवी छहरा गाउँपालिकका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए । उनका अनुसार जिल्ला अस्पतालमा कार्यरत पुरुष स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो । संक्रमण देखिएका अर्को पुरुष रैनादेवी छहराका भए पनि उनी बुटवल बस्दै आएको बताइएको छ । उनी दुवै जनाको अवस्था सामान्य रहेको छ । पछिल्लो समय जिल्लामा कोरोना महारीमारीका बेला अग्रभागमा रहेर काम गर्दै आएका, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुमा समेत संक्रमण देखिएको छ । केही दिन अघि तानसेन नगरपालिकाका चार जना र रम्भा गाउँपालिलकाका दुई जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएको थियो । शुक्रबार र शनिबारमात्र बगनासकाली गाउँपालिकाका एक, लुम्विनी मेडिकल कलेजमा कार्यरत एक र रम्भा गाउँपालिकाका एक जना गरी तीन जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको थियो ।

शुक्रबार बगनासकाली गाउँपालिका वडा नं. ६, दर्पुक स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीमा संक्रमण पुष्टि भएको थियो । उनको अवस्था अहिले सामन्य रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मणीराम अधिकारीले बताए । त्यस्तै शनिबार रम्भा गाउँपालिका वडा नं. ४ स्थित हुमिन स्वास्थ्य चौकीमा कार्यरत अनमीलाई पनि कोरोना संक्रमण देखिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनका अनुसार ति स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको छ । उनका सम्पर्कमा रहेका सबै स्वास्थ्यकर्मीहरुलाई होमक्वारेन्टाइनमा राखेर बाहिरबाट स्वास्थ्यकर्मीहरु ल्याई स्वास्थ्यचौकीको आकस्मीक सेवाहरु सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए । त्यस्तै लुम्विनी मेडिकल कलेज प्रभासमा कार्यरत माथागढी गाउँपालिका–३ की एक जना स्टाफ नर्समा पनि संक्रमण देखिएको अस्पताल स्रोतले जनाएको छ । उनको सम्पर्कमा रहेका सबै व्यक्तिहरुको स्वाब संकलन गरिएको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । उनका अनुसार अहिले ति स्वास्थ्यकर्मी होमआइसोलेशसनमा रहेको र अवस्था सामान्य रहेको छ । आइतबार थपिएका दुई जना सहित जिल्लामा संक्रमितको संख्या ६ सय ५९ पुगेको छ । संक्रमित मध्ये दुई जनाको मृत्यु भएको र ५ सय ७६ जना निको भई घर फर्किसकेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update