Shittalpati
सहिद बहुमुखी क्याम्पसले मनायो २९ औं वार्षिक उत्सव

इमान सिं राना

पाल्पा(रामपुर) । पूर्वी पाल्पा संगै गण्डकी बेशी क्षेत्रको जेठो क्याम्पस शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पामा भवन उट्घाटन, सरस्वतीको प्रतिमा अनावरण संगै अनुशन्धान मूलक शहीद जर्नल विमोचन भएको छ । क्याम्पसको २९ औं वार्षिक उत्सवको अवसरमा रामपुर नगरपालिका द्धारा निर्मित चार कोठे भवन उट्घाटन, सरस्वती बाटीकामा निर्माण भएको प्रतिमा अनावरण र क्याम्पसले पहिलो पटक प्रकाशनमा ल्याएको जर्नल विमोचन गरिएको हो ।

कार्यक्रमको समुद्घाटन संगै शहीदहरुको शालिक र तस्वीरमा माल्यार्पण गर्दै प्रदेश नं. ५ का प्रदेश सभा सदस्य वीर बहादुर रानाले विकासको लागि समय अनुसारको शिक्षा अपरिहार्य रहेको बताउँदै क्याम्पसको स्तर वृद्धि र प्रविधिक कक्षा सञ्चालनका लागि आफुले प्रदेशमा पहल गर्ने बताए । रानाले संघिय लोकतान्त्रिक गणतन्त्र बलियो नभए सम्म सबै कुरा कमजोर हुने भएकाले त्यसको संस्थागत गर्नु आवश्यक रहेको बताए । साथै उनले शहीदको सपना साकार पर्ने सबैले आ–आफ्नो कर्तव्य पालना गर्नु पर्ने बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले क्याम्पस रामपुर नगरपालिका मात्रै नभई पूर्वी क्षेत्रको शैक्षिक धरोहर रहेको बताउँदै नगरपालिकाले क्याम्पसको स्तर वृद्धिको लागि आवश्यक सहयोग आगामी दिनमा पनि जारी राख्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु घिमिरे आचार्य, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव झपेन्द्र गहिरे, नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुरका प्रतिनधि शुकदेव पोखरेल, राष्ट्रिय जनमोर्चा रामपुरका नगर सचिव राम प्रसाद गैरे, रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, रामपुर नगरपालिकाका कार्यपालिका सदसय दुर्गादेवी भण्डारी गौतम, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, क्याम्पस सञ्चालक समितिका सदस्य ऋषिराम भट्टराई, शहीद बहुमुखी क्याम्पस प्रध्यापक संघका अध्यक्ष दयाराम भट्टराई, शहीद बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति जिवन तिवारी, नेपाल विद्यार्थी संघका इकाई सभापति आवाष भट्टराई, अनेरास्ववियु प्ररम्भिक कमिटीका अध्यक्ष सञ्जय घर्ती, विद्यार्थी शंकर सुनारले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै वार्षिक उत्सवको अवसरमा क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले क्याम्पसले प्राप्त गरेका उपलब्धी, भावी लक्ष्य तथा रणनितीका बारेमा आफ्ना भनाई राखेका थिए । उनले नवनिर्मित चारकोठे भवन रामपुर नगरपालिकाको २५ लाख र क्याम्पसको ५ लाख लागतमा निर्माण भएको बताए । क्याम्पसका लेखा अधिकृत प्रकाशचन्द्र सिग्देलले गत वर्षको २ करोड ६६ लाख बराबरको आयव्याय सहित आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गरेका थिए । अनुशन्धान मुलक शहीद जर्नलको पहिलो अंकको बारेमा शहीद बहुमुखी क्याम्पस अनुशन्धान विभागका प्रमुख डिल्लीराम रेग्मीले जानकारी दिएका थिए ।साथै पासआउट हुन सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवराज ढकालको अध्यक्षतमा भएको कार्यक्रम सहायक क्याम्पस प्रमुख त्रिविक्रम खनालको स्वागत, सञ्चालक समितिका उपाध्यक्ष नेत्र प्रसाद भट्टराईको धन्यवाद र सहायक प्रध्यापक द्वय धुर्व प्रसाद पोखरेल र बमकला भुसालले गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update