Shittalpati
पाल्पामा कोरोना परीक्षण मेसिन जडान गरिदै

पाल्पा । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा पनि कोरोना परीक्षण गरिने भएको छ । तानसेनमा परीक्षणका लागि पिसिआर मेसिन जडान कार्य अगाडि बढेकाले एक हप्ता भित्रमै परीक्षण हुने भएको हो । पिसिआर मेसिन पाल्पा आइपुगेकाले जडान कार्य भइरहेको छ । अब कम्तीमा एकसाताभित्र स्वाब परीक्षण गर्ने गरी तयारी अगाडि बढेको पाल्पा अस्पताल व्यवस्थापन समितिले जनाएको छ । अहिले तानसेनको काजिपौवास्थित जिल्ला समन्वय समितिको भवनमा प्रयोगशाला निर्माण काम भइरहेको हो ।

संघीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा प्रयोगशाला सञ्चालनमा आउन लागेको छ । यस अघि संघीय सरकारले पाल्पा अस्पतालको मातहतमा रहने गरी कोरोना परीक्षणका लागि पिसिआर मेसिन राख्ने निर्णय गरेपछि एक करोड रुपैयाँको मेसिन खरिद प्रक्रिया अगाडि बढेको थियो । छोटो प्रक्रियामार्फत टेण्डर गरेर छनौट भएको ओम सर्जिकल्सले पिसिआर मेसिन जडानको कार्य गरिरहेको छ ।

एक करोड बढीको लागतमा भौतिक संरचना निर्माण गर्ने काम भएको पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताए । उनका अनुसार मेसिन जडानको काम अन्तिम चरणमा पुगेको छ । ‘भौतिक संरचना निर्माणको काम लगभग सकिएको छ,’ उनले भने ‘सरकारले तय गरेको स्वास्थ्य मापदण्ड अनुसार कोठाहरू निर्माण भएका छन् ।’ स्वाब परीक्षणको काम सुरक्षित हुने गरी यहाँका संरचना निर्माण गरिएको पाण्डेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । मेसिन जडानपछि पाल्पासहित स्याङ्जा, गुल्मी, अर्घाखाँची र अन्य छिमेकी जिल्लाको स्वाब परीक्षणमा सहजता हुने उनले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update