Shittalpati
‘सहिदको योगदान सरकारले भुल्यो’

रमेश विश्वकर्मा
गुल्मी । नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सहिदको योगदान सरकारले भुल्दै गएको बताएका छन् । सहिद दिवसका अवसरमा बिहीबार नेपाली काँग्रेस रेसुङ्गा नगर समितिले आयोजना गरेको सहिद शमसेर बहादुर खत्रीको शालीकमा माल्यार्णपण गर्दै सभापति श्रेष्ठले सहिदहरुको बलिदान र त्यागबाट प्राप्त योगदानलाई सरकारले भुलेको बताएका हुन् ।

उनले भने,‘सरकारले राजनितिक आस्थाका आधारमा सच्चा सहिदको उपहास गर्दै बिना योगदानका व्यक्तिहरुलाई सहिद घोषणा गर्नु दुखद् हो ।’ सच्चा सहिदको योगदानलाई भुल्न नहुने भन्दै सभापति श्रेष्ठले सहिदको सपना साकार पार्न सबै राजनैतिक पार्टी एक हुनुपर्ने धारणा व्यक्त गरे । सहिद खत्रीलाई पञ्चायति शासन व्यवस्थाको विरुद्ध बोलेको आरोपमा तत्कालिन अमरपुर गाविसमा वि.स.२०१९ जेष्ठ १५ गते निर्ममतापूर्वक हत्या गरिएको थियो । हत्या पछि उनको शिर छेदन गरी जिल्लाका विभिन्न ठाउँहरुमा समेत प्रदर्शन गरी सबै प्रजातन्त्रप्रेमी परिवर्तनकारीहरुलाई तर्साउने प्रयास गरेको सभापति श्रेष्ठले बताए ।

सहिद खत्रीले प्रजातन्त्रका लागि खेलेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको भन्दै उनले सहिदहरुको बाटोमा मुलुक हिड्न नसेको धारणा व्यक्त गरे । देशमा प्रजातन्त्र तथा लोकतन्त्र बहालीका लागि योगदान गरेका शहिदहरुको सम्झनामा मनाईने यो दिनमा अघिल्लो सरकारले विदा दिदैं आएको तर वर्तमान सरकारले विदा कटौती गरेको प्रति सभापति श्रेष्ठले आपत्ति जनाए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले सहिदले देखाएको बाटो प्रति हिड्न सक्यौ ? कि सकेनौँ भनेर समिक्षा गर्ने समय आएको बताए ।

नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहाँनीया राणा शासन, निरड्ढुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रिक एवं लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो जीवनको बलिदान गरेका वीर सपुतको सम्झनामा हरेक वर्ष सहिद शमसेर बहादुर खत्रीको शालीकमा माल्यार्णपण गरिदै आएको काँग्रेस नगर सभापति छवि पाण्डेले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update