Shittalpati
पाल्पामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण

पाल्पा । जिल्लामा शुक्रबार समुदायस्तरका थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका २ जना र बगनासकाली गाउँपालिकाका ९ जनामा संक्रमण देखिएको हो । तानसेन नगरपालिका एक जना महिला र एक जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रीकृष्ण भट्टराईले बताए । उनका अनुसार बगनासकाली गाउँपालिकाका २ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबै समुदायस्तरका रहेको भट्टराईले बताए । संक्रमण देखिएका बगनासकाली गाउँपालिकाका वडा नम्वर ६ , ५ र ८ का रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक मणिराम अधिकारीले बताए ।

उनीहरु मध्ये वडा नम्वर ८ का ५७ वर्षका पुरुष मृगौलाको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा स्वाव संकलन गर्दा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएपछि गाउँपालिकाले शुक्रबारदेखि असोज ५ गतेसम्मका लागि सबै वडा कार्यालयहरु बन्द गरेको छ । गाउँपालिका भित्रका होटल पसल, यातायात सबै पूर्ण रुपमा बन्द रहने छन् । जिल्लामा शुक्रबार थपिएका ११ जनासहित कूल संक्रमितको संख्या ६ सय ५१ पुगेको छ । संक्रमित मध्ये ५ सय ७० जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update