Shittalpati
सच्चा सहिद ओझेलमा, दिवसकै उपहास

रामचन्द्र रायमाझी
पाल्पा, हरेक वर्षजस्तै यसपटक पनि ‘सहिद दिवस’ आयो र गयो पनि । विगतमा सरकारी तवरबाट विविध कार्यक्रमहरु आयोजना गरी दिवसलाई औपचारिकता दिने गरिएता पनि यस वर्ष भने जिल्लामा खासै कार्यक्रमहरु भएको देखिएन । प्रजातन्त्र स्थापनामा योगदान पुर्‍याएका सहिदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गते सम्मलाई सहिद सप्ताको रुपमा मनाउने गरिए पनि यस वर्ष भने औपचारिकताका कार्यक्रमहरु नुहँदा दिवसकै उपहास भएको प्रति जिल्लाका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

माघ १६ गतेका दिन मुलुकभर नै विभिन्न संघ संस्थाहरुले सहिद प्रति दिप प्रज्वलन गरी दिवस मनाउने गरे पनि यस वर्ष सामाजिक सञ्चालमा सहिदहरुको योगदानको चर्चा बाहेक सार्वजनिक रुपमा खासै औपचारिक कार्यक्रम भएनन् । सरकारले मनपरी सहिद घोषणा गर्नुले पनि विगतमा जस्तो दिवसले औपचारिकता पाउन नसकेको हो । देशमा प्रजातन्त्र ल्याउन जीवन उत्सर्ग गरेका सहिदलाई हरेक सरकारले गलत व्याख्या गरेर सहिद घोषणा गर्नुले उनीहरुको अपमान भएको छ । २०६२/०६३ को राजनीतिक परिवर्तनपछि बनेका हरेक सरकारले विभिन्न आन्दोलनका नाममा ज्यान गुमाएकालाई आफू अनुकूल सहिद घोषणा गर्दा सच्चा सहिद ओझेलमा परेका छन् ।

सहिदहरुले जुन कारणले आफ्नो जीवन उत्सर्ग गरे त्यो अहिलेसम्म पूरा भएको छैन । देशमा प्रजातन्त्र ल्याउन सहिदले जीवन उत्सर्ग गरे, तर अहिले लोकतन्त्र हुँदै गण्तन्त्र आइसक्यो, जनतामा निराशा बढ्दो छ, राजनीतिक दलले सहिद उपमालाई गलत व्याख्या गरेर पार्टी पिच्छे सहिद घोषणा गर्नुले उनीहरुको अपमान भएको त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक राजेश्वर उदयले बताए । उनी भन्छन्, ‘राणाशासन विरुद्ध वलिदान दिने सहिदको भावनालाई सरकारले कदर गर्नुपर्ने र अरुले पनि उनीहरुलाई विर्सन हुँदैन ।’

योगदानको कदर हुन नसक्दा सहिदको अबमूल्यन भएको प्रति प्राध्यापक उदयले चिन्त व्यक्त गरे । जसरी सहिद प्रति सच्चा सुमन हुनुपर्ने हो, सहिदले देखाएको बाटोमा जानुपर्ने हो त्यो हुन नसक्नु दुःखद् रहेको उनी बताउँछन् । सरकारले सच्चा सहिदको सम्मान गर्नुपर्ने प्राध्यापक उदयले बताए ।

सरकारले राजनीतिक आस्थाका आधारमा मनपरी घोषणा गर्दा अहिले सहिद नै उपहासको पात्र बन्न पुगेका छन् । चार जना अमर सहिद जसले राणाशासन अन्त्य गरी राजतन्त्र स्थापित गर्यो, जनआन्दोलनका सहिदले राजतन्त्र फालेर लोकतन्त्र ल्याउन मलजल गर्यो, उनैको आज अपमान भएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । उनले भने ‘आन्दोलनका क्रममा मारिएका पनि सहिद छन्, अब कसलाई सहिद भन्ने ? गाडीमा परेर दुर्घटना भएर, करेन्ट लागेर मरेका व्यक्तिलाई पनि सहिद मानिएकोमा (उनले आपत्ति जनाए । सरकारले मनपरी सहिद घोषणा गर्दा वास्तविक सहिदको अपमान भएको अध्यक्ष बस्याल बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update