Shittalpati
कोरोना संक्रमणबाट निको भएर घर फर्कनेको संख्या बढ्दै

शर्मिला थापा मगर
पाल्पा । पछिल्ला केही दिन यता कोरोना संक्रमणको तुलनामा संक्रमण मुक्त भई घर फर्कनेको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो तीन दिनदेखि संक्रमितको तुलनामा कोरोना मुक्त भई ‘डिस्चार्ज’ हुनेको संख्या बढ्दै गएको हो । कोरोना निको हुनेको संख्या बढेसँगै ‘डिस्चार्ज’ दर पनि वृद्धि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ९ सय २ संक्रमित थपिदा दुई हजार २ सय ८७ जना कोरोना मुक्त भई घर फर्केका छन् । मंगलबारसम्म कुल संक्रमित मध्ये ६८.५ प्रतिशत डिस्चार्ज भएर घर फर्किएका छन् । सोमबार मुलुकभर ९ सय ७९ नयाँ संक्रमित थपिदा एक हजार ७ सय ३६ जना डिस्चार्ज भएका थिए । यस्तै आइतबार पनि सक्रिय संक्रमित (९ सय ८० जना) को तुलनामा झण्डै दोब्बर (एक हजार ८ सय १४ जना) ले कोरोना जितेर घर फर्केका थिए ।

हालसम्म कुल ३२ हजार ९ सय ६४ जना निको भएर घर फर्केका मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ रहेको छ । जसमध्ये छ हजार ८ सय १५ होम आइसोलेशनमा रहेका छन् भने आठ हजार ५३ संस्थागत आइसोलेनशमा छन् । १० हजार ६ सय ११ नमूना परीक्षणमा देशभर ९ सय २ जनामा कोरोना संक्रमण पाइएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । कैलालीमा ७७, मोरङमा ५१, सुनसरीमा ३८, धनुषामा ३३, कास्कीमा ३०, मकवानपुरमा २४, रुपन्देहीमा २१, चितवनमा २०, सप्तरी, सुर्खेत र गोरखामा १८/१८, झापामा १६, पर्सामा १४, ओखलढुङ्गामा १३, बारामा १२, बाग्लुङमा १०, कञ्चनपुरमा ९, रौतहट, धादिङ र रामेछापमा ८/८ संक्रमित फेला परेका छन् । बर्दिया र नवलपरासी पूर्वमा ७/७, सर्लाहीमा ५, बाँकेमा ५, सिरहा र महोत्तरीमा ४/२, नुवाकोट, दाङ र तनहुँमा ३/३, उदयपुर, दोलखा र काभ्रेपलाञ्चोकमा २/२, इलाम, नवलपरासी, गुल्मी, कपिलवस्तु, अर्घाखाँची, स्याङ्जा, सिन्धुपाल्चोक, रोल्पा र दैलेखमा १/१ संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, धनुषा, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन र रुपन्देहीमा ५ सय बढी सक्रिय संक्रमित उपचाररत छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमित छैनन् ।
थप छ को मृत्यु
कोरोना भाइरसबाट नेपालमा थप छ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मुलुकभर थप छ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६०, काठमाडौंका ८५ र कपिलवस्तुको ६२ वर्षीय पुरुष तथा काठमाडौँकै ८० वर्षीया महिला छन् । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ । जुन कुल संक्रमितको तुलनामा ०.६३ प्रतिशत हो । विश्वभर दुई करोड ७४ लाख ९२ हजार ९ सय ८२ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित मध्ये आठ लाख ९६ हजार ९ सय २६ जनाको मृत्यु भएको छ भने एक करोड ९५ लाख ९२ हजार २ सय ८० जना निको भएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update