Shittalpati
पाल्पामा थप चार जनामा संक्रमण, केही स्थानीय तह बन्द

पाल्पा । जिल्लामा थप चार जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा आइतवार साँझ र सोमवार गरी तानसेनका एक जना र माथागढीका ३ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तानसेन नगरपालिका ११ घर भई वडा ४ मा बस्ने एक महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित देखिएका माथगढीका वडा सदस्य, शिक्षक, भारतीय सेना रहेको बताइएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय १० पुगेको छ । ५ सय ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् भने २ जनाको निधन भएको छ ।

आईतबार मात्र जिल्लामा थप १६ जनामा संक्रमण देखिएको थियो । माथागढीका ५ पुरुष, रैनादेवी छहराका १ महिला १ पुरुष, बगनासकालीका १ पुरुष, तिनाउँ गाउँपालिकाका ८ पुरुष गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु मध्ये रैनादेवी छहराका २ जना, माथागढीका २, तिनाउका ८ जना समुदायस्तरका रहेका थिए ।

समुदायस्तरमा कोरोना फैलिएपछि तिनाउँ गाउँपालिकाको कार्यालय एक हप्तासम्म र बगनासकाली गाउँपालिकाको वडा नम्बर ७ र ८ को केही भाग अनिश्चित कालका लागि बन्द भएका छन् । तिनाउँ गाउँपालिकाको कार्यालय नजिक रहका दोभान बजार र गाउँपालिकाको कार्यालय आगामी २८ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । आइतबार एकै दिन समुदायस्तरका ८ जनामा कोरोना संक्रमण भेटिएपछि एक हप्ताका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले बताए ।

पालिकाका सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बजार, पसल, होटल तथा रेष्टुरेन्ट लगायत सबै एक हप्तासम्म बन्द रहने छन् । स्थानीयलाई आवतजावतमा समेत रोक लगाइएको अध्यक्ष घर्ती मगरले बताए । त्यस्तै बगनासकाली गाउँपालिकाले पनि समुदायस्तरका एक जना पुरुषमा संक्रमण देखिएपछि वडा नम्बर ८ को देउराली बजार, नेपानेडाँडा, वडा नम्बर ७ को कमेरे हुँदै वडा कार्यालय सम्मलाई शिल गरेको छ । अर्को सूचना नभएसम्मका लागि उक्त क्षेत्र शिल गरिएको प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । त्यस्तै पाल्पा अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना पुष्टि भएपछि आकस्मिक सेवा बाहेक सबै सेवाहरु आइतबार बेलुकी देखिनै बन्द गरिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update