Shittalpati
आइतबार एक हजार ८ सय १४ ले कोरोना जिते

पाल्पा । नेपालमा कोरोना निको भएर घर फर्किनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार पछिल्लो २४ घण्टामा एक हजार ८ सय १४ संक्रमितले कोरोना जितेर घर फर्किएका हुन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १८ सय १४ जना डिस्चार्ज भएको बताएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४१ पुगेको छ । यो कुल संक्रमितको ६३ प्रतिशत हो । त्यस्तै आइतबार देशभर महिला २ सय ९० र पुरुष ६ सय ९० गरी ९ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोनाभाइरस संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।

गौतमका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २सय १ र होम आइसोलेशनमा ७ हजार ८ सय २६ जना रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ । आइतबार मृत्यु हुनेमा २ महिला र ७ जना पुरुष रहेका छन् । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । त्यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षीय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षीया महिलाको मृत्यु भएको उनले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update