
पाल्पा । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गए पनि निको हुनेको दर पनि बढ्दै गएको छ । शनिबार मात्र एकै दिन एक हजार पाँच सय ६६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएको बताएका हुन् ।
योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ । यो कुल संक्रमितको ६० प्रतिशत हो । शुक्रबार पनि एक हजार तीन सय ५४ जना डिस्चार्ज भएका थिए । यसरी दिन प्रतिदिन कोरोना जितेर घर फर्किनेहरुको संख्यामा वृद्धि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महिला ३ सय ४९ र पुरुष ६ सय ९२ गरी १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए । यससँगै देशमा हालसम्म कुल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको उनले बताए । यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृतकमा ३ महिला र ६ पुरुष रहेका छन् । मृतक महिला मोरङ, मकवानपुर र नवलपरासीका १÷१ जना रहेका छन् । यस्तै काठमाडौंका ३ पुरुषको मृत्यु भएको छ । यस्तै पर्सा, महोत्तरी र रुपन्देहीका १÷१ पुरुषको पनि मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ सय ८० पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ । संस्थागत आइसोलेशनमा ९ हजार ८ सय ६६ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ८ जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पिसिआर भएको छ ।