
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकामा केही दिन अघि समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एक सय ३२ जनाको पिसिआर ‘रिपोर्ट नेगेटिभ’ आएको छ । जिल्लामा समुदायस्तरमै कोरोना देखिएपछि गाउँपालिकाले केही दिन अघि गाउँपालिकाका एक सय ४१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि भैरहवा प्रयोगशालामा पठाएको थियो ।
परीक्षणका लागि पठाइएका एक सय ४१ जना मध्ये एक सय ३२ जनाको मात्र रिपोर्ट आएको र सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक केशव जिसिले जानकारी दिए । अन्यको भने रिपोर्ट आउन बाँकी रहेको छ । गाउँपालिकाले अग्रपंतिमा खटिएर काम गर्दै आएका व्यक्तिहरुको स्वाब संकलन गर्दै आएको छ । अग्र भागमा रहेर काम गर्दै आएका सुरक्षाकर्मी, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, स्वास्थ्यकर्मीहरु, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेकाहरु, जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, शिक्षकहरु र मेडिकल सञ्चालकहरु संक्रमणबाट बढी प्रभावित हुन सक्ने भन्दै गाउँपालिकाले उनीहरुको कोरोना परीक्षण गराएको हो ।