Shittalpati
थप एक हजार तीन सय ५४ संक्रमितले कोरोना जिते

पाल्पा । नेपालमा थप १३ सय ५४ जना संक्रमितले कोरोना जितेका छन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १३ सय ५४ जनाले कोरोना जितेर घर फर्किएको बताएका हुन् । योसँगै निको भएर घर फर्केनेको संख्या २५ हजार ५ सय ६१ पुगेको छ । यो कुल संक्रमितको ५६ प्रतिशत हो । हालसम्म प्रदेशगत रुपमा प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ५७, बागमती प्रदेशमा २ हजार ६७ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमणमुक्त भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजा १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी देशभरी २५ हजार ५ सय ६१ जना संक्रमित संक्रमणमुक्त भएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४ सय ६४ र पुरुष ८ सय ९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेका छन् । आजसम्म पिसिआर विधिबाट ७ लाख ४५ हजार ४ सय ९० परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र १० पुरुष रहेका छन् । प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमध्ये काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला हुन् । सप्तरीका ५५/५५ वर्षीय दुई पुरुष, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्युठानका ५८ ,रुपन्देहीका ७८, पाल्पाका ६३ र सुर्खेतका ४२ वर्षीय पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । शुक्रबार १४ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update