Shittalpati
रुपन्देहीमा तीन कोरोना संक्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा कोरोना संक्रमणका कारण शुक्रबार तीन जनाको मृत्यु भएको छ । दुई जना सिद्धार्थनगर र एक जना बुटवलका संक्रमितको मृत्यु भएको हो । होम आइसोलेशनमा रहेका सिद्धार्थनगर नगरपालिका–८ का ४५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए । मिर्गाैलाले काम नगरेपछि चितवनमा डायलायसिस गरेर फर्किएका उनको बिहान मृत्यु भएको बताइएको छ ।

यस्तै बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर – ७ की ६४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही भदौ ४ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचाप, मधुमेह, मिर्गौला र निमोनियाको समस्या रहेको र कोरोनाको आशङ्कामा स्वाब परीक्षण गर्दा भदौ १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेकामा बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसअघि बिहान बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । –रासस

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update