Shittalpati
पाल्पामा समुदायस्तरका थप दुई सहित छ जनामा कोरोना संक्रमण

पाल्पा । जिल्लामा समुदायस्तरका थप दुई जना सहित ६ जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिकामा ४, रिब्दीकोट गाउँपालिकाका १ जना र रैनादेवी छहरा गाउँपालिकामा २ का १ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका तानसेन १० का दुई जना, ११ का एक जना र १४ का एक जना पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु भारत लगायत तेस्रो मुलुकबाट आई होमक्वारेन्टाईनमा बस्दै आएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताए । रिब्दीकोटका एक जना महिलाको भने पुरा ठेगाना खुल्न सकेको छैन । उनको बुटवल प्रादेशिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताए ।

संक्रमित महिला रिब्दीकोटकी भए पनि बुटवलमा बस्दै आएको बुझिएको छ । त्यस्तै रैनादेवी छहराका संक्रमित पुरुष पनि बुटवलको एक अस्पतालमा कार्यरत रहेको बुझिएको छ । रिब्दीकोटकी महिला र रैनादेवी छहराका संक्रमित पुरुष कहि कतै नगएको र उनीहरु समुदायस्तरका रहेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी पन्थीले बताए । समुदायका थप दुई जना सहित अहिले सम्म जिल्लामा दश जना समुदायस्तरका व्यक्तिहरुमा संक्रमण देखिएको छ । यस अघी रम्भा गाउँपालिकाका ३ ,तानसेनका दुई, तिनाउका १ र रामपुरका दुई जनामा संक्रमण देखिएको हो । संक्रमण देखिनेहरु चार जना महिला र छ जना पुरुष रहेका छन् । शुक्रबार थपिएका छ जना संक्रमित सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ सय ८९ पुगेको छ भने ५ सय ६२ जना निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये पूर्वखोलाका एक जना पुरुष र तानसेनका एक जना महिलाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update