Shittalpati
नेपालमा बुधबार थप १२ कोरोना संक्रमितको मृत्यु

पाल्पा । कोरोना भाइरस (कोभिड –१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं र चितवनमामा ३/३ जनाको मृत्यु भएको जानकारी दिए । काठमाडौंका मृतकमा १ महिला र २ पुरुष रहेका छन् । यस्तै चितवनमा पनि २ महिला र १ पुरुषको मृत्यु भएको छ भने ललितपुर, तनहुँ र कपिलवस्तुमा पनि १/१ महिलाको मृत्यु भएको छ । यस्तै बाराका, भक्तपुर र धादिङका १/१ गरी ३ पुरुषको मृत्यु भएको छ । योसहित ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा मात्रै ११ सय २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए । बुधबार नयाँ संक्रमितमा ३२० महिला र ८०० पुरुष छन् । यस्तै मन्त्रालयका अनुसार १० हजार ४९३ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ६१५ छन् । क्वारेन्टाइनमा ६ हजार ७६६ जना रहेका छन् भने कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार १०८ छ । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update