Shittalpati
आज देशभर सहिदहरुको सम्झनामा दिवस मनाइँदै

पाल्पा, देशभर सहिदप्रति सम्मान गर्दै सहिद दिवस मनाइदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै सहिद दिवस मनाउन लागिएको हो । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आइएको छ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरूको योगदानमा सहिद दिवस मनाउन लागिएको हो । बि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा झुण्डाएर तत्कालीन राणा शासकले हत्या गरेका थिए । त्यसको दुई दिन पछि माघ १२ गते सिफलमा धर्मभक्त माथेमालाई र माघ १५ गते दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी संघसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । देशका विभिन्न समयमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका सहिदको साहस र त्यागको पनि लेखाजोखा र उच्च मूल्याङ्कन गर्दै माघ १६ लाई सहिद दिवशको रुपमा मनाइदै आइएको हो ।

 

प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update