Shittalpati
रणउजिरेश्वरी लायन्सको अभियानः तानसेनका मजदुर र तरकारी व्यवसायीलाई मास्क र सेनिटाइजर

पाल्पा । जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले विश्वभर फैलिएको कोरोना महामारीलाई मध्यनजर गर्दै सञ्चालन गरिरहेको अभियानलाई निरन्तरता दिएको छ । क्लवले अग्र भागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, व्यवसायी, मजदुरहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरणहरु गर्दै अभियानलाई निरन्तरता दिदै आएको हो । साथै क्लवले अभियान अन्र्तगत बन्दाबन्दीका कारण काम गर्न नपाएका मजदुर, विपन्न वर्गका व्यक्तिहरुलाई खाद्यान्न समेत सहयोग गर्दै आएको छ ।

अभियानका क्रममा क्लवले बुधबार तानसेनका मजदुर र तरकारी व्यवसायीहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको छ । कोरोना संक्रमणबाट मजदुर र तरकारी व्यापारीहरु समेत बढी प्रभावित हुने भन्दै उनीहरुको सुरक्षाका लागि स्वास्थ्य सुरक्षा सामग्री मास्क र सेनिटाइजर वितरण गरिएको क्लवले जनाएको छ । उक्त स्वास्थ्य समाग्री क्लवकी संस्थापक अध्यक्ष तथा इन्टरनेश्नल लायन्स ३२५ विटुका डिष्ट्रिक डिपार्टमेण्ट चिफ मीना पन्थीले सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरेकी छन् । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै महिला नेतृ तथा नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष समेत रहेकी पन्थीले कोभिड–१९ का कारण मजदुर र तरकारी व्यवसायीहरु समेत बढी प्रभावित भएकाले उनीहरुको सुरक्षाका लागि केही भए पनि राहत मिल्लोस् भनेर क्लवले स्वास्थ्य सामग्री वितरण गरेको बताईन् ।

उनले भनिन् ‘जस्तो सुकै कामका लागि पनि मजदुरहरु बाहिर निस्कनु पर्ने र बाहिरबाट ल्याएका तरकारीहरु विक्री वितरण गर्ने तरकारी व्यवसायहरु बढी जोखिममा हुन्छ, वर्तमान विषम परिस्थतीमा पनि विना स्वास्थ्य सुरक्षाका साथ उनीहरु खटिएका छन् यस्तो अवस्थामा केही भए पनि राहतको महसुस दिलाउन स्वास्थ्य सामग्री दिइएको हो ।’ जिल्लामा महिला नेतृको रुपमा महत्वपूर्ण भूमिका खेल्दै आएकी पन्थीले संस्थागत र व्यक्तिगत रुपमा समेत संकटमा परेका विपन्न, अपाङ्ग, जेष्ठ नागरिक, दलितहरुको उत्थानमा लागि पर्दै आएकी छन् । ‘हामी सेवा गर्छाै’ भन्ने मान्यताका साथ स्थापना भएको क्लवले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेलेको नेतृ पन्थीले बताईन् । उनी भन्छिन् ‘सेवाभाव मार्फत नै समाज समृद्ध र रुपान्तरण गर्न सकिने भन्दै आफु निःस्वार्थ अभियानमा लागेकी हुँ ।’ क्लवले बुधबार एक सय जना मजदु र ११ जना तरकारी व्यपारीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको थियो । वितरण कार्यक्रममा क्लवका संथापक सदस्य सुशिला कर्मचार्य, लक्षीमा ज्ञवाली, पाल्पा लायन्स क्लवका सुरेस कर्मचार्य लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १४:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update