Shittalpati
नेपालमा संक्रमितसँगै निको हुने दर पनि बढ्दै

रामचन्द्र रायमाझी

पाल्पा । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण नेपालमा संक्रमितको संख्या ह्वात्तै बढे पनि निको हुनेको संख्या पनि उल्लेख्य रहेको छ । दैनिक रुपमा देखिएका संक्रमितको आधा भन्दा बढी संक्रमितहरु निको भइ घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४० हजार ५ सय २९ जनामा कोरोना पुष्टि भएकोमा २२ हजार १ सय ७८ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ७ सय ६८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लाबाट कोरोना निको भएर जानेको संख्या ७ सय ६८ रहेको बताए । उनका अनुसार यो सँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या २२ हजार १ सय ७८ पुगेको छ । सोमबार पनि ५ सय ८८ जना डिस्चार्ज भएका थिए ।

प्रदेश नम्बर १ मा १ हजार ६ सय २५, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ९७, बागमती प्रदेशमा १ हजार ३ सय ३६ र गण्डकी प्रदेशमा १ हजार ७ सय ८ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार २३, कर्णाली प्रदेशमा २ हजार १ सय १ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ जना गरी २२ हजार १ सय ७८ जना संक्रमण मुक्त भएका छन् । क्वारेन्टाइनमा ७ हजार ३ सय ९० जना रहेका छन् । रिपोेर्ट नेगेटिभ आएका, दुई हप्ता आइसोलेशनमा बस्दा कुनै पनि संक्रमण नदेखिएका, स्वास्थ्य अवस्था सामान्य रहेकाहरु डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टामा एक हजार ६९ मा संक्रमण

पछिल्लो २४ घण्टामा एक हजार ६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ८८ नमुना परीक्षण गर्दा ३ सय ४४ महिला र ७ सय २५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० छन् । यस्तै रुपन्देहीका ९१ जना, सुनसरीका ५६, चितवनका ४५, बझाङका ४०, बाँकेका ३३, लमजुङका ३२, डोटीका २४, कैलालीका २०, सर्लाहीका १९, नवलपुरका १५, झापाका १४, गुल्मी र अछामका १३/१३ जना, मोरङ र बैतडीका १२/१२ जना तथा धनुषा, दोलखा र धादिङका ११/११ मा संक्रमण पुष्टि भएको छ । अर्घाखाँचीका ९ जना, काभ्रे र गोरखाका ८/८ जना, कपिलवस्तुका ७, मकवानपुर र सिन्धुलीका ६/६ जना, रौतहट र तनहुँका ५/५ जना, कास्की, नवलपुर र कञ्चनपुरका ४/४ जना, ओखलढुंगा, खोटाङ, महोत्तरी, नुवाकोट, रामेछाप, जुम्ला, दैलेख र डडेलधुराका २/२ जना तथा उदयपुर, पाँचथर, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, पर्वत, पाल्पा, प्युठान, रुकुम पश्चिम, सल्यान र सुर्खेतका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ । नेपालमा मंगलबारसम्म ७ लाख ५ हजार बढीको पीसीआर परीक्षण भएको छ । त्यसैगरी संस्थागत आइसोलेसनमा १० हजार ८ सय ३२ र होम आइसोलेसनमा ७ हजार २ सय ८० जना रहेका छन् ।

थप ११ जनाको मृत्यु

संक्रमण सँगै मृत्युदर पनि बढ्दै गएको छ । कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महोत्तरीमा ४ वर्षीया बालिकासहित २ जनाको मृत्यु भएको छ । पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । त्यस्तै सिरहाका १, बाराका १, चितवनका १ र मकवानपुरका १ जनाको मृत्यु भएको हो । योसहित नेपालमा मृतकको संख्या २ सय ३९ पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update