Shittalpati
कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक

बुटवल । कोरोना संक्रमितको उपचारका लागि बुटवलमा प्लाज्मा बैंक स्थापना भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेश पाँचको समन्वयमा बुटवलको रक्त सञ्चार केन्द्रमा प्लाज्मा बैंक स्थापना भएको हो । बैंक सञ्चालनसँगै कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार हुने छ । संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीलाई संक्रमणमुक्त स्वस्थ व्यक्तिले रगत दिएर गरिने उपचारका लागि प्लाज्मा संकलन गर्न प्लाज्मा बैंक स्थापना गरिएको हो । कोरोना संक्रमित व्यक्ति निको भएको १४ दिन पुगेपछि उसले दिने रगतबाट आरबीसी, डब्लुबीसी र प्लेटलेट्स छुट्याएर बाँकी रहेको रगतको अंश अर्थात प्लाज्मा जटिल अवस्थामा कोरोना संक्रमितलाई दिँदा निको भएकाले नेपालमा पनि यो विधि प्रयोगमा ल्याइएको छ । प्लाज्माले भाइरसको संक्रमणलाई रोकेर निष्क्रिय पारी रोग प्रतिरोधी क्षमता बढाउने हुनाले प्लाज्मा थेरापीलाई कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका संयोजक डा.प्रशान्त आचार्यले बताए । कोरोना संक्रमण मुक्त व्यक्तिबाट रगत संकलन गरिएको छ । संकलित रगतलाई प्लाज्मा बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका जटिल अवस्थाका संक्रमितलाई दिइने नेपाल स्वास्थ्य अनुसन्धान परिषद प्रदेशले जनाएको छ ।

के हो प्लाज्मा थेरापी विधि ?

श्विभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को उपचारमा नयाँ–नयाँ आयामहरू देखा परेका छन् । कुनै पनि औषधि या खोप नभएको भनिएको यस रोगको विभिन्न वैकल्पिक पद्धतिबाट उपचार गर्न थालिएको हो । यही वैकल्पिक पद्धतिको पछिल्लो उदाहरण हो, प्लाज्मा थेरापी । विश्वमा केही महिनायता लाखौं संक्रमितलाई प्लाज्मा थेरापी गराइएको छ । युरोप, अमेरिका र भारतमै पनि धेरै कोरोना संक्रमितहरूको उपचार यही विधिबाट भएको छ । हालसम्मको तथ्यांकले यो विधिबाट उपचार गरेपश्चात संक्रमण निको हुने दर ५० देखि ७० प्रतिशत रहेको विज्ञहरू बताउँछन् । निको भएका कोरोना संक्रमितको रगतबाट प्लाज्मा निकालेर संक्रमितको शरीरमा चढाउने प्रक्रिया (ट्रान्सफ्युजन)लाई प्लाज्मा थेरापी भनिन्छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमित भएर शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक ६० वर्षीय चिकित्सकमा यो पद्धतिबाट उपचार गरिएको छ र जुन सफल भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update