Shittalpati
बाहिरबाट आएका नागरिक व्यवस्थापनमा कठिनाई, भवन नहुँदा क्वारेन्टाइन र आइसोलेशनमा समस्या

कृष्ण पोखरेल
पाल्पा । जिल्लामा भारत तथा तेस्रो मुलुकबाट आएका नागरिक व्यवस्थापनमा कठिनाई भएको छ । सरकारले विद्यालयहरुलाई क्वारेन्टाइनबाट हटाउने निर्यण गरेसंगै भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई व्यवस्थापन गर्न जिल्लाका स्थानीय तहलाई कठिन भएको हो । यहाँका पालिकाहरुमा प्रशस्तमात्रामा सामुदायिक भवनहरु नहुँदा बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न समस्या भएको सम्बन्धित पालिकाहरुको गुनासो रहेको छ । विगतमा भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई सिधैँ घरमा प्रवेश नगराई स्थानीय सरकारले समुदायबाट एकान्त विद्यालय तथा सामुदायिक भवनहरुमा १४ दिन क्वारेन्टाइनको रुपमा राख्दै आएका थिए । पालिकाहरुका प्रशस्त मात्रामा सामुदायिक भवनहरु नहुँदा बाहिरबाट आएका व्यक्तिलाई आ–आफ्नो घरमा पठाउने गरेका छन् । क्वारेन्टाइनको रुपमा घर–घरमा व्यवस्था नभएका कारण समुदायमा संक्रमणको जोखिम बढेको छ । पाल्पाका १० स्थानीय तहका ८१ वटा सामुदायिक भवनको अवस्था दयनीय रहेको छ । हाल पाल्पामा दिनहुँ सयौको संख्यामा भारतबाट प्रभासी नेपालीहरु आ–आफ्नो गाउँमा फर्किरहेका छन् । प्रशस्त कोठाहरु नभएको घरमा क्वारेन्टाइन बनाउन भने समस्या देखिएको छ । पाल्पामा समुदायस्तरबाट ५ जना संक्रमित भेटिएपछि त्रास फैलिएको छ । समुदायस्तरमा सक्रमण फैलिएपछि पालिकाहरुले आम रुपमा परीक्षणको दायरा बढाएका छन् । तानसेन, रामपुर र तिनाउमा समुदायस्तरमा सक्रमण भेटिएको हो । तानसेनले ३ सय संक्रमित व्यक्तिको आसपासका ३ सय ३५ जनामा पिसिआर परीक्षण गरिसकेको छ भने ,रामपुर नगरपालिकाले एक सय जनाको पिसिआर परीक्षणका लागि स्वाव सकंल गरी प्रयोगशालामा पठाएको छ । तिनाउँ गाउँपालिकाले संक्रमित व्यक्तिको सम्र्पकित व्यक्तिहरुको पहिचान र आम रुपमा परीक्षणका लागि विवरण संकलन गर्दै आएको छ ।

गाउँमा प्रशस्त मात्रामा सामुदायिक भवनहरु नहुँदा क्वारेन्टाइनको अवस्था भद्रगोल हुँदै गएको छ । विद्यालयबाट क्वारेन्टाइन पूर्णरुपमा हटाइएको छ । अब जुनसुकै समयमा विद्यालय सञ्चालन गर्ने गरी पाल्पाका पालिकाहरु तयारी अवस्थामा छन् । केन्द्र सरकारले बाहिरबाट आएका व्यक्तिहरुलाई विद्यालयमा पनि नराख भन्छ, घरमा पनि नराख भन्छ, होटल तथा गेष्ट हाउसमा राख्न समुदायले दिदैन, आजै सबै वडा–वडा टोल–टोलमा सामुदायिक भवनको संरचना छैनन्, आएका व्यक्तिहरुलाई व्यवस्थापन गर्न चुनौती थपिदै गएको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए । अहिले पालिकाले वडा २ को पोखराथोकको सामुदायिक भवन मर्मत गरी २० जनालाई क्वारेन्टाइनमा राख्न सक्ने गरी तयारीमा जुटेका छौ, अन्य वडा वडामा खाली रहेका घर तथा केही सामुदायिक भवनहरुमा क्वारेन्टाइन बनाउने गरी पालिकास्तरबाट काम भईरहेको अध्यक्ष बस्यालले बताए । तानसेन नगरपालिकाले बाहिर बाट आएका व्यक्तिहरु लाई होम क्वारेन्टाइनमा राख्न शुरु गरेको छ । नेपाल सरकारले नै बाहिर बाट आएका व्यक्तिहरु लाई होम क्वारेन्टाइनमा राख्न गरेको आग्रह अनुसार श्रावण महिनादेखि नै बाहिरबाट आएका व्यक्तिहरु लाई होम क्वारेन्टाइमा लागि पठाएको नगर प्रमुख अशोककुमार शाहीले बताए । रामपुर नगरपालिकाले पनि पछिल्लो समय बाहिरबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमै पठाएको छ । विद्यालयहरु क्वारेन्टाइनबाट हटाएकाले भारतबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमै पठाएको र उनीहरुको १४ दिनको अवधिमा पिसिआर टेष्ट गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताए । कोरोना संक्रमणको संख्या बढ्दै गएमा पर्याप्तमात्रामा सामुदायिक भवनहरु नभएकाले विद्यालयहरुको प्रयोग गर्नुपर्ने बाध्यता रहेको नगर प्रमुख थापाले बताए । पाल्पाको १० स्थानीय तहमा १ सय ३० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइनको रुपमा प्रयोग भएका थिए । कोरोना सक्रमण बढेपछि निस्दी, पूर्वखोला र रामपुर नगरपालिकाले विद्यालयहरुलाई नै आइसोलेशन रुपमा परिणत गरेका थिए । समुदायस्तरमा कोरोना सक्रमण फैलिदै गएपछि पाल्पाका पालिकाहरु चिन्तित भएका हुन् ।

केही समय अगााडिसम्म भारतीय सिमा नाकाहरुमा प्रभासी नेपालीहरुको रेकर्डहरु राख्ने, जिल्ला तथा पालिकाहरुले आ–आफ्नो तरिकाबाट रेकर्ड राख्दै आएपनि पछिल्लो समय यो व्यवस्था फितलो हुँदै गएको छ । यो अवस्थाले समुदायस्तमा कोरोना संक्रमणको जोखिम बढी रहेको नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापती बुद्धिप्रसाद शर्माले बताए । पाल्पा होटर तथा रेष्टुरेष्ट व्यवसायी समितिले होटल तथा गेष्टहाउसहरुलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्ने निर्यण गरेका छन् । होटलको स्तर अनुसार क्वारेन्टाइनका लागि दैनिक १ हजार ५ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म खाना नास्ता तथा बासको लागि एट्याच सहितको कोठा उपलब्ध गराउने निर्यण गरेका छन् । तर स्थानीयवासीको विरोधको कारण होटल व्यवसायीहरुले पाल्पामा क्वारेन्टाइन सञ्चालन गर्न सकेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update