Shittalpati
कोरोनाबाट थप १३ को मृत्यु

पाल्पा । नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गएको छ । शनिबार पनि थप १३ जनको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरका दुई–दुई जना गरी ६ जना र ललितपुरको पाटन अस्पतालमा थप एक जनाको मृत्यु भएको जानकारी गराए । त्यस्तै पर्सामा दुई, सिरहा, पाल्पा, गोरखा, कास्कीमा एक÷एक जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । मृतकमध्ये तीन महिला र १० पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरेर २४ घण्टामा ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार ११ हजार ५ सय १६ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ८४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३ सय ४० पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ३ सय १३ जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेको संख्या २० हजार ५ सय ५५ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update