Shittalpati
पाल्पामा कोरोनाबाट दुई जनाको मृत्यु, पाँच सय ७९ जनामा संक्रमण, पाँच सय ६१ जना निको

रामचन्द्र रायमाझी
पाल्पा । विश्वभर बढ्दै गएको कोरोना भाइरसको संक्रमण पछिल्ला महिनायता नेपालमा पनि बढ्दै गएको छ । यसको गति तीव्र भइरहदा समुदायमै फैलिइसकेको आशंका समेत हुन थालेको छ । पाल्पामा पनि पछिल्ला केही दिनदेखि समुदायस्तरमै संक्रमण देखिन थालेको छ । जिल्लामा समुदायस्तरका तीन जनामा संक्रमण पुष्टि भएको छ । समुदास्तरमा संक्रमण देखिएका एक जनाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररत तानसेन ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शुक्रबार मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासको आइसोलेशन सेन्टरमा उनको उपचार भइरहेको थियो । ज्वरो, रुखाघोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि अस्पताल पुगेकी ती महिलामा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई आइसोलेशनमा राखेर उपचार गरिरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको र शुक्रबार साँझ निधन भएको अस्पताल स्रोतले जनाएको छ । ती महिलामा लामो समयदेखि मुटु रोगको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । महिलामा कोरोना देखिएपछि त्यस क्षेत्रमा कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको थियो । उनका एक छोरा, छोरी र श्रीमान रहेका छन् । श्रीमान र छोरालाई भने कोरोना नेगेटिभ देखिएको छ । उनको छोरी सहित स्थानीयको स्वाब संकलन गरी पठाइएको र रिपोर्ट भने आउन बाँकी रहेको तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताए । उनको शव शनिबार नेपाली सेना गोरखदल गण पाल्पाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र आफन्तको उपस्थितिमा व्यवस्थापन गरेको छ । महिलाको शव पाल्पाको चरचरे नजिकैको जंगलमा खाडल खनेर व्यवस्थापन गरिएको नेपाली सेना गोरखदल गणका मेजरकुमार थापाले बताए । जिल्लामा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि कोरोना संक्रमणका कारण पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको निधन भएको थियो । उनको पनि सोही स्थानमा शव व्यवस्थापन गरिएको थियो । जिल्लामा समुदायस्तरका तीन सहित ५ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार तिनाउ गाउँपालिकाका ६ जना पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ५ सय ७९ पुगेको हो । अहिलेसम्म तिनाउ गाउँपालिकाका र तानसेनमा समुदायस्तरको महिलामा कोरोना देखिएको छ । शनिबार थपिएका ६ जनासँगै सक्रिय संक्रमितको संख्या १६ रहेको छ । संक्रमित मध्ये ५ सय ६१ जना निको भएर घर फर्कि सकेका छन् । भारत लगायत तेस्रो मुलुकबाट आएका पाँच सय ७६ जना र अन्य समुदायस्तरका ३ जनालाई परीक्षणको क्रममा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update