Shittalpati
पाल्पामा कोरोनाबाट मृत्यु भएकी महिलाको सेनाद्वारा अन्त्येष्टि

पाल्पा । तानसेनस्थित लुम्विनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी तानसेन ८ मदनपोखरा पिपलडाँडाकी ३० वर्षिय महिलाको शनिबार अन्त्येष्टि गरिएको छ । उनको शव शनिबार नेपाली सेना गोरखदल गण पाल्पाले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र आफन्तको उपस्थितीमा व्यवस्थापन गरेको हो । महिलाको शव पाल्पाको चरचरे नजिकैको जंगलमा खाडल खनेर व्यवस्थापन गरिएको नेपाली सेना गोरखदल गणका मेजर कुमार थापाले बताए ।

ज्वरो, रुखाघोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि अस्पताल पुगेकी महिलामा गत भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई आइसोलेशनमा राखेर उपचार गरिरहेकोमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको र शुक्रबार साँझ निधन भएको थियो । ती महिलामा लामो समयदेखि मुटु रोगको समस्या रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । महिलामा कोरोना देखिएपछि त्यस क्षेत्रमा कन्ट्याक्ट टेसिंग गरिएको थियो । उनका एक छोरा, छोरी र श्रीमान रहेका छन् । श्रीमान र छोरालाई भने कोरोना नेगेटिभ देखिएको छ । उनको छोरी सहित स्थानीयको स्वाब संकलन गरी पठाइएको र रिपोर्ट भने आउन बाँकी रहेको तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताए । यस अघि पनि कोरोना संक्रमणका कारण मृत्यु भएका पूर्वखोला गाउँपालिका–१,सिलुवाका ४५ वर्षीय पुरुषको पनि सोही स्थानमा शव व्यवस्थापन गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update