Shittalpati
कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या १ सय ९५ पुग्यो

पाल्पा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ सय ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १२ जनाले कोरोनाकै कारण ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १९५ पुगेको हो । मन्त्रालयका अनुसार २४ घण्टामा चार महिला र आठ पुरुष गरेर १२ जनाको मृत्यु भएको छ ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतक महिलामा मोरङका २ तथा भक्तपुर र मकवानपुरका १/१ जना रहेका छन् । यस्तै पुरुषमा उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका १/१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ सय ३४ महिला र ५ सय ९३ पुरुष गरेर २४ घण्टामा ९ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार १० हजार २ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ९ सय २७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update