Shittalpati
कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता !

गुल्मी । कोरोना परीक्षणका लागि गुल्मीमा आएको पीसिआर मेसिन फिर्ता भएको छ । मेसिन जडानका लागि आवश्यक उपकरण नभएको भन्दै एक महिनापछि उक्त मेसिन काठमाडौं फिर्ता गरिएको हो । मेसिन जडानको लागि रेसुङ्गा नगरपालिकालाई जिम्मा दिइएको थियो । तर नगरपालिकाले उक्त मेसिनलाई चाहिने विभिन्न उपकरणहरु नभएको भन्दै मेसिन फिर्ता पठाएको हो । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीको पहलमा हिमालयन एयर लाइन्स काठमाडौंको सौजन्यमा गत साउन ३ गते उक्त मेसिन जिल्ला पठाइएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले काठमाडौदेखि हेलिकेप्टरमार्फत उक्त मेसिन ल्याई जिल्लाको सदरमुकाम तम्घासमा एक औपचारिक कार्यक्रम बिच रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई हस्तान्तरण गरेका थिए ।

कोरोना परीक्षणका लागि गत साउन ३ गते ल्याइएको पीसिआर मेसिन नगर प्रमुख डिल्लीराज भुषाललाई हस्तान्तरण गर्दै नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली ।

 

रेसुङ्गा नगरपालिकाले एक महिना वितिसक्दा समेत उक्त मेसिन राख्ने भौतिक संरचना तयार पार्न सकेको थिएन । केही समय अघी पीसिआर मेसिन अनुगमनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाबाट आएको टोलीले मेसिनमा लाग्ने उपकरणहरु नभएको भन्दै आफुहरुले जडान गर्न नसक्ने बताएका थिए । त्यस लगत्तै परराष्ट्रमन्त्री ज्ञवालीका स्वकिय सचिव जंग नेपालीको नेतृत्वमा काठमांडौबाट आएको स्वास्थ्य प्राविधिक सहितको टोलीले मेसिनको निरीक्षण गरी आवश्यक पर्ने उपकरणहरु जडानका लागि भन्दै फिर्ता लगेको नगर प्रमुख डिल्लीराज भुसालले बताए । उनले लकडाउनका कारण जिल्लामा प्राविधिक र उपकरण समयमै व्यवस्थापन गर्न नसकिएको बताए । मेसिन राख्नको लागि आवश्यक भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको भए पनि मेसिनका लागि चाहिने उपकरण नहुँदा फिर्ता पठाउनु परेको उनले जानकारी दिए । प्राविधिक र उपकरणहरु उपलब्ध भएमा १५ दिन भित्रमा मेसिन जिल्लामा ल्याइने नगर प्रमुख भुसाल बताए । पीसिआर मेसिन सञ्चालनका लागि जिल्लाका दुई नगरपालिकाले १५/१५ लाख र दश गाउँपालिकाले १०/१० लाख रकम विनियोजन गर्ने समेत निर्णय गरेका थिए ।

मेसिन अनुगमनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र काठमाडौंबाट आएको स्वास्थ्यको टोलीले आवश्यक पर्ने उपकरणहरु नभएको भनेपछि उक्त मेसिन काठमाडौ फिर्ता पठाईएको जिल्ला अस्पतालका मे.सु. डा. उत्तम पच्याले बताए । उनले अब त्यही मेसिन आउँछ की अर्को नयाँ मेसिन आउँछ त्यो विषयमा आफुलाई जानकारी नरहेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले मेसिनमा विभिन्न उपकरणहरु जडान गर्नुपर्ने भएकाले उक्त मेसिन काठमाडौ लगिएको बताए । उनले भने ‘जिल्लामा प्राविधिक बोलाउन नसकिने र उपकरणहरु उपलब्ध हुन नसक्ने अवस्था रहेकाले फिर्ता पठाउनु परेको हो ।’

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update