
पाल्पा । सिल गरिएको तानसेन ४ विशाल बजार क्षेत्रका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विशालबजारकी ४० वर्षिया एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका ३ सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएकोमा उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको हो । ती महिलाको गत साउन २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा भदौ २ चिकित्सकसहितको टोलीले ३ सय ३५ जनाको स्वास्थ्य परीक्षण गरेको थियो । उनीहरुको थ्रोट स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि काठमाडौं पठाएको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
समुदायस्तरमै पहिलो पटक संक्रमण देखिएपछि तानसेनमा त्रास फैलिएको थियो । रिपोर्ट नआउन्जेलसम्म समुदायस्तरमा आगो सरी संक्रमण फैलिएको भन्दै स्थानीय चिन्तित बनेका थिए । स्वाब संकलन गरी पठाएपछि उनीहरु रिपोर्टको प्रतिक्षामा बसेका थिए । मंगलबार सबैको रिपोर्ट नेगेटिभ आएपछि भने स्थानीयले केही राहतको महसुस गरेका छन् । सिल गरिएको क्षेत्रका हरेक घरको एक जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । सुमदायस्तरमै संक्रमण देखिन थालेपछि जिल्ला प्रशासनले भने भदौ १२ गतेसम्मका लागि निषेधाज्ञा जारी राखेको छ ।