Shittalpati
पाल्पामा आइतबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । जिल्लामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाका एक जना र रामपुर नगरपालिकाका दुई जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । भैरहवा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको छ । घरमै बसेकी उक्त महिलामा संक्रमण देखिएसँगै तानसेनमा समुदास्तरमै फेरी अर्को नयाँ केस थपिएको छ । शुक्रबार ज्वरो, रुखाघोकी लागेर लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि आएकी महिलामा कोरोनाको लक्षण देखिएपछि शनिबार स्वाव संकलन गरी पठाइएकोमा उनको आइतबार रिपोर्ट पोजेटिभ आएको अस्पतालका अध्यक्ष गोपाल पोखरेलले बताए । उनको अहिले आइशोलेसनमा राखेर उपचार भइरहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

त्यस्तै रामपुर नगरपालिकामा दुई जना पुरुषमा संक्रमण देखिएको छ । रामपुर नगरपालिकाका १६ जनाको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएका दुई जना पुरुष मध्ये एक जना शिक्षक रहेका छन् । उनको कपिलवस्तु घर भएको र रामपुरमा शिक्षण पेशामा कार्यरत रहेको नगरपालिकाका स्वास्थ्य संयोजक तिर्थ प्रसाद ढुङ्गानाले बताए । उनी विदामा घर गएको र १२ दिन अघी अनलाई कक्षा सञ्चालन गर्नका लागि पुनः रामपुर आएको बताइएको छ । अर्को एक जना पुरुष भने केही हप्ता अघि तेस्रो मुलुबाट आएर होमक्वारेन्टाईनमा बसेको बताइएको छ । उनीहरुको साउन ३१ गते स्वाव संकलन गरेर पठाइएको थियो ।

पछिल्लो समय जिल्लामा कोरोना सक्रमण समुदास्तरमै पुगेपछि स्थानीयमा त्रास बढेको छ । यस अघि तानसेन ४ मा पनि घरमै बसेकी महिलामा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार पनि तानसेन नगरपालिका १२ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी केही समय अघि भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएको बुझिएको छ । आइतबार थप तीन जनामा सक्रमण देखिएसँगै संक्रमितको संख्या ५ सय ६८ पुगेको छ । जसमध्ये ५ सय ६१ जना कोरोना जितेर घर फर्किएका छन्, भने एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update