Shittalpati
तानसेनमा फेरी देखियो समुदायस्तरमै कोरोना, घरमै बसेकी महिलामा संक्रमण

पाल्पा । तानसेनमा थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा तानसेन नगरपालिका ८ मदनपोखराको पिपलडाडाँकी एक महिलामा कोरोना सक्रमण पुष्टि भएको हो । घरमै बसेकी उक्त महिलामा संक्रमण देखिएसँगै तानसेनमा समुदास्तरमै फेरी अर्को नयाँ केस थपिएको छ ।

शुक्रबार ज्वरो, रुखाघोकी लागेर लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको लागि आएकी महिलामा कोरोनाको लक्षण देखिएपछि शनिबार स्वाव संकलन गरी पठाइएकोमा उनको आइतबार रिपोर्ट पोजेटिभ आएको अस्पतालका अध्यक्ष गोपाल पोखरेलले बताए । उनको अहिले आइशोलेसनमा राखेर उपचार भइरहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

यस अघि तानसेन ४ मा पनि घरमै बसेकी महिलामा कोरोना पोजेटिभ आएको थियो । जिल्लामा कोरोना सक्रमण समुदास्तरमै पुगेपछि स्थानीयमा त्रास बढेको छ । शुक्रबार पनि तानसेन नगरपालिका १२ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो । उनी केही समय अघि भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएको बुझिएको छ । आईतबार थप एक जनामा सक्रमण देखिएसँगै संक्रमितको संख्या ५ सय ६६ पुगेको छ । जसमध्ये ५ सय ६० जना कोरोना जितेर घर फर्किएका छन्, भने एक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update