Shittalpati
नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या एक सय ४६ पुग्यो

पाल्पा । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा सुनसरी, पर्सा, बारा, सिराह, मकवानपुर र भक्तपुरका संक्रमितको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका २ जना रहेका छन् । सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्साका ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । बाराका ५८ वर्षीय, सिरहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गरिएकोमा ६ सय ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसहित संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए । २४ घण्टामा जम्मा १ सय २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ । हाल क्वारेन्टाइनमा रहेको संख्या ११ हजार ६ सय ५८ रहेको छ भने आइसोलेसनमा १२ हजार ६ सय २९ जना छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update