Shittalpati
नेपालमा कोरोनाले उग्र रुप लिँदै ,एकै दिन ११ जनाको मृत्यु भएको पुष्टि

रामचन्द्र रायमाझी

पाल्पा,नेपालमा कोरोना भाइरस (कोभिड–१९)ले उग्र रुप लिँदै गएको छ । चीनको उहान शहरबाट फैलिएको कोभिड –१९ ले पछिल्लो समय नेपालमा उग्र रुप लिएको हो । सरकारले चैत ११ गते देखि जारी गरेको लकडाउन गत साउन ७ गतेदेखि अन्त्य गरेसँगै नेपालमा कोरोनाको संक्रमण अत्यधिक फैलिएको छ । नेपालमा दिनहुँ जसो संक्रमितको संख्या बढ्दै गएको छ भने मृतकको संख्या पनि ह्वात्तै बढेको  छ ।


शुक्रबार मात्र कोरोनाबाट ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक महिला र १० पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा थप ११ जिल्लाका एक/ एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनका अनुसार मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका एक/एक जना गरी ११ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ । मृतकको संख्या दिनप्रतिदन बढ्दै गए पछि आमनागरिकमा त्रास फैलिएको छ ।

शुक्रबार मात्र नेपालमा ८ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये २ सय ९२ महिला र ५ सय ४६ पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना संक्रमित देखिएका छन् । नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६/६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४/४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३/३ जना रहेका छन् । उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २/२ जना संक्रमित थपिएका छन् । ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १/१ जना थपिएको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ ।
कोरोनाको संक्रमण र मृतकको संख्या दिनहुँ बढ्दिै गएपछि सरकारले सर्वसाधारणलाई सचेत रहन आग्रह समेत गरेको छ । उपचारमा सरकारको खर्च समेत अत्यधिक भइरहेको र उपचारको सम्भावना समेत नभएको भन्दै सरकारले निषेधाज्ञाको पूर्णरुपमा पालना गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update