
पाल्पा । जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले कैलाशनगर मिडियाद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकमा कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लवले कोरोना महामारीको समयमा पनि जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो । क्लवकी संस्थापक अध्यक्ष तथा इन्टरनेश्नल लायन्स ३२५ विटुका डिष्ट्रिक चिफ मीना पन्थीले आइतबार पव्लिकेशनमै पुगी उक्त स्वास्थ्य सामग्री दैनिकका सम्पादक जगदीश भट्टराईलाई हस्तान्तरण गरेकी हुन् ।
उक्त सामग्री हस्तान्तरण गर्दै महिला नेतृ तथा नेपाल महिला संघकी जिल्ला उपाध्यक्ष समेत रहेकी पन्थीले कोभिड–१९ का कारण सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरु समेत बढी प्रभावित भएकाले उनीहरुको सुरक्षाका लागि केही भए पनि राहत मिल्लोस् भनेर क्लवले स्वास्थ्य सामग्री वितरण गरेको बताईन् । उनले भनिन् ‘पत्रकार वा सञ्चारकर्मी समाजका ऐन भएकाले पनि उनीहरु जस्तो सुकै परिस्थितीमा पनि फिल्डमा खटिनुपर्ने हुन्छ, वर्तमान विषम परिस्थतीमा पनि विना स्वास्थ्य सुरक्षाका साथ उहाँहरु खटिनु भएको छ, यस्तो अवस्थामा केही भए पनि राहतको महसुस दिलाउन स्वास्थ्य सामग्री दिइएको हो ।’ नेतृ पन्थीले पव्लिकेशनमा कार्यरत सञ्चारकर्मीहरुलाई उच्च सकर्तकताका साथ आम नागरिकलाई सूचना सम्प्रेषण गर्न समेत आग्रह गरिन् ।
सामग्री हस्तान्तरण गर्दै दैनिकका सम्पादक भट्टराईले विषम परिस्थितीमा पनि क्लवले सञ्चारकर्मीप्रति देखाएको सहयोग र सद्भाव प्रशंसनिय रहेको भन्दै धन्यवाद दिए । उनले कोभिड–१९ को जोखिमबाट सुरक्षित रही विश्वसनीय, सन्तुलित र सत्यतथ्यपूर्ण सूचना एवं समाचार–सामग्री सम्प्रेषण गर्न निकै कठिन भइरहेका बेला लायन्स क्लव जस्ता संस्थाहरुले देखाएको सद्भाव पव्लिकेशनका लागि मार्गदर्शक बन्ने बताए । क्लवले महामारीका बेला अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकार, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै आएको छ । लकडाउनका बेलामा समेत दैनिक ज्याला मजदुरी गर्दै आएका मजदुरहरुका लागि क्लवले खाद्यान्न समेत सहयोग गरेको थियो ।