Shittalpati
कोरोनाबाट थप तीनको मृत्यु, मृतकको संख्या एक सय दुई पुग्यो

पाल्पा । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए । यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय दुई पुगेको छ । प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update