Shittalpati
प्रदेश पाँच : समुदायमा बढ्दै कोरोना संक्रमण

रुपन्देही । प्रदेश पाँचका विभिन्न जिल्लामा समुदायमा कोभिड–१९ संक्रमण बढ्दै गएको छ । रुपन्देहीमा पाँच जना संक्रमित थपिएका छन् । बुटवलमा समुदायस्तरबाट आएको स्वाब परीक्षण रिपोर्टमा एक महिलासहित पाँच जनामा कोरोना भाइरसको समंक्रण पुष्टि भएको छ । रुपन्देहीमा कोभिड–१९ संक्रमित ४ सय ६ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । उनका अनुसार बुटवल उपमहानगरपालिकाकी २६ वर्षीया महिला र ३५, २८, २३, २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । नेशनल प्याथ ल्याबबाट एक र प्रादेशिक अस्पतालको ल्याबबाट चार जनामा संक्रमण देखिएको छ । संक्रमितको सामान्यावस्था छ ।

आलोपालो प्रशासनिक सेवा

कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आलोपालो प्रणालीमा सेवा दिने भएको छ । यही साउन ३० गतेदेखि अर्को सूचना जारी नहुञ्जेल जिल्लामा भएका १६ पालिकाका जनतालाई आलोपालो प्रणालीमा सेवा दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए । प्रजिअ पन्थका अनुसार आइतबार सिद्धार्थ नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकावासीलाई सेवा दिइनेछ ।यसैगरी सोमबार तिलोत्तमा र लुम्बिनी साँस्कृतिक नगरपालिकावासीलाई सेवा दिइनेछ । मङ्गलबार देवदह नगरपालिका तथा ओमसतिया र कोटहीमाई गाउँपालिका एवं बुधबार बुटवल उपमहानगरपालिका तथा सियारी र समरीमाई गाउँपालिकावासीलाई सेवा दिइने छ । बिहीबार सैनामैना नगरपालिका तथा गैडहवा र रोहिणी गाउँपालिकावासीलाई सेवा दिइनेछ । शुक्रबार मायादेवी र शुद्धोधन गाउँपालिकावासीलाई प्रशासनिक सेवा दिने गरी जिल्ला प्रशासन कार्यालयले तालिका बनाएको छ ।

बैंकका चार कर्मचारीमा कोरोना

बर्दियामा थप आठ कोरोना संक्रमित थपिएका छन् । बैंकका चार कर्मचारीसहित आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । अस्पतालले बिहीबार सार्वजनिक गरेको विवरणानुसार बाँसगढी नगरपालिका– ५ का तीन, वडा नं ८ का दुई र वीरेन्द्रनगर सुर्खेत घर भएका तीन जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये एक महिला र सुर्खेत घर भएका तीन जना बैंकका कर्मचारी रहेको स्वास्थ्य कार्यालयका कोरोना स्थानीय स्रोत व्यक्ति कृष्णगोपाल चौधरीले बताए । यससँगै बर्दियामा कोरोना संक्रमित २ सय ७७ पुगेका छन् ।

पाल्पामा समुदायमा कोरोना

पाल्पामा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । तानसेन नगरपालिका–४ की ४० वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा आफन्तको उपचारका निम्ति पुगेकी महिलालाई पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । महिलासँगै रहेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजानका लागि प्रक्रिया मिलाउने क्रममा पिसिआर परीक्षण गर्दा संक्रमण भएको रिपोर्ट आएको हो । यहाँ संक्रमितको संख्या ५ सय ६३ पुगेको र ५ सय ६० जना कोरोना जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update