
पाल्पा,तानसेनमा थप एक जनामा कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परीक्षणमा तानसेन नगरपालिका–४ की ४० वर्षिया महिलामा कोरोना पुष्टि भएको हो । उनी गृहणी हुन् । समुदायस्तरमा संक्रमण देखिएको तानसेनको यो पहिलो घटना हो । महिला लुम्विनी मेडिकल कलेज प्रभासमा आफन्तको उपचारका लागि खटिएकी थिइन् । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ती महिलाको बिहीबार रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै खटेका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । समुदायस्तरमै कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ । यसै विषयलाई लिएर तानसेन नगरपालिका नगर प्रमुख अशोक कुमार शाहीको संयोजकत्वमा वडा ४ को वडास्तरीय बैंठक बसिरहेको छ । वडाको निर्णयका आधारमा साँझ ७ बजे बस्ने जिल्लास्तरीय सीसीएमसीको बैठकले वडालाई शिल गर्ने नगर्ने विषयमा निर्णय गर्ने वडा स्रोतले जनाएको छ ।
तानसेनका पाँच जनाको पीसीआर परीक्षण गरिएकोमा एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विहिबार थपिएका एक जना संक्रमितसँगै तानसेनमा संक्रमितको संख्या १५ पुगेको छ । थप एक जनामा संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ५ सय ६३ पुगेको हो । ५ सय ६० जना डिस्चार्ज भएका छन् । एक जनाको भने मृत्यु भएको छ । संक्रमित मध्ये ५ सय १६ जना पुरुष र ४७ जना महिला रहेका छन् ।