Shittalpati
फेरी कर्मचारी आलोपालोमा बैंक चलाउन राष्ट्र बैंकको निर्देशन

पाल्पा । विश्वभर फैलिएको कोरोना महामारीको जोखिम उच्च बनेपछि राष्ट्र बैंकले फेरि बैंक तथा वित्तीय संस्थालाई कर्मचारीको आलोपालो प्रणालीमा व्यवस्थापन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना नै जारी गरी बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो । राष्ट्र बैंकले सम्भव भएसम्म घरबाटै काम गर्न, गराउन समेत निर्देशन दिएको छ । निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले सोमबारदेखि पुनः आलोपालो प्रणालीमा कर्मचारी व्यवस्थापन गरेका छन् । बैंकले कुनै, कुनै शाखाबाट मात्रै सेवा दिने र एक दिनमा केही घण्टामात्रै बैंक खोल्न पाउनेछन् । प्रदेश, स्थानीय सरकार र स्थानीय प्रशासनसँगको समन्वयमा शाखा खोल्ने बारे निर्णय लिन बैंकलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । यसअघि बन्दाबन्दीको समयमा शाखा आंशिक सञ्चालन गरेका बैंकले पछिल्लो समय पुनः सरकारले भीडभाड नियन्त्रण गर्न थालेपछि राष्ट्र बैंकले आवश्यकता अनुसार समूह विभाजन गरेर आलोपालो प्रणाली लागू गर्न निर्देशन दिएको हो ।

यस्तो विषम परिस्थितिमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अपनाएर कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा ‘विजनेश कन्टिन्यस्टी प्लान’ बनाउन पनि राष्ट्र बैकले आग्रह गरेको छ । ‘सोही योजनाअनुसार कोभिडको जोखिम व्यवस्थापन गर्न आवश्यकताअनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने,’ सूचनामा भनिएको छ । प्रदेशका शाखा कार्यालय भने पहिलेजस्तै सकेसम्म कम कर्मचारी मार्फत सञ्चालन गर्ने, वैकल्पिक रुपमा शाखा सञ्चालन गर्न सक्ने अवस्थामा आंशिक समयका लागि वैकल्पिक शाखा सञ्चालन गर्ने निर्देशन पनि राष्ट्र बैंकले दिएको छ । लकडाउनको कारणले सञ्चालन हुन नसकेको शाखाको विवरण नियमित रुपमा राष्ट्र बैंकमा उपलब्ध गराउन र विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update