Shittalpati
अभिभावकलाई स्विटर बुन्ने तालिम

इमान सिं राना
पाल्पा(रामपुर), खाजा समयमा अधिकांश विद्यालयमा अभिभावहरुको उपस्थिति रहने गर्छ । बाबुनानीहरुलाई खाजा लिएर आउँने क्रममा कतिपय अभिभावकहरु बाबुनानीहरुलाई सँगैै लिएर जानका लागि कुरिरहेका पनि हुन्छन् । यस समयमा उनीहरुको समय खेर गैरहेको हुन्छ । तर दरै ठाँटी माध्यमिक विद्यालयमा बाबुनानी पढाउने अभिभावकहरु भने अब विद्यालयमा आएर खाली बस्नु नपर्ने भएको छ ।

जसका लागि रामपुर नगरपालिका ६ ले अभिभावकलाई लक्षित गरी स्विटर बुन्ने तालिम सुरु गरेको छ । अभिभावकहरुलाई सीप सिकाई समयको सदुपयोग गराउँने उद्देश्यले १५ दिने तालिम सञ्चालन गरेको हो । तालिमको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको छ । तालिमको उट्घाटन गर्दै दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले सीप सिकेर जुन सुकै समयमा सदुपयोग गर्न सकिने भएकाले ध्यान दिएर सीप सिक्न आग्रह गरे । उनले विद्यालयका अभिभावकहरुलाई मध्यनजर गर्दै तालिम सञ्चालन गरेकोमा धन्यवाद दिए ।

अभिभावकलाई फुर्सदको समय सदुपयोग सँगैै सीप सिकेर आत्मनिर्भर बनुन् भन्ने उद्देश्यले तालिम आयोजना गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । तालिममा ४० वर्षमुनिका ४५ जना अभिभावकहरुको सहभागिता रहेको छ । तालिमको सहजिकरण प्रशिक्षक गंगा खड्काले गरेका छन् । कार्यक्रमको सञ्चालन वडा सदस्य यमबहादुर भुजेलले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update