Shittalpati
सटर भाडा छुट गर्दै रेडक्रस पाल्पा

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटीले सटर तथा कोठा भाडा छुट गरेको छ । कोभिड–१९ सँगै गरिएको लकडाउनले सटरमा व्यवसाय गर्दै आएका व्यवसायी र कोठा भाडामा बस्दै आएका व्यक्तिहरु प्रभावित भएको भन्दै रेडक्रसले दूई महिनाको भाडा छुट गरेको हो । संस्थाले तानसेनको मखनटोलमा रहेका ३, बारुदखानमा रहेको १ सटर र ८ वटा कोठाका लागि दुई महिनाको एक लाख ८४ हजार भाडा छुट गरेको छ ।

कोभिड १९ को कारण व्यवसायीहरुले आफ्नो व्यवसाय सहजरुपमा सञ्चालन गर्न नसकेको अवस्थामा केही भए पनि राहत मिलोस् भनेर २ महिनाका लागि भाडा छुट गरिएको संस्थाका जिल्ला सभापति बुद्धिप्रसाद शर्माले बताए । उनले भाडामा बस्नेले कोभिड–१९ का कारण व्यवसाय नभएको गुनासो गरेपछि संस्थाले सो निर्णय गरेको बताए । ‘संकटका बेला एकले अर्कालाई साथ, सहयोग र सहुलियत दिइएन भने मानवता रहन्न । त्यसैले कम्तिमा दुई महिनाको भाडा छुट गरेका हौं’ सभापति शर्माले भने, ‘यो बेला सबै एक भएर कोरोनासँग लड्ने बेला हो । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं ।’

कोरोना भाइरसबाट आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायीहरु मर्कामा परेकाले उनीहरुको समस्यालाई मध्यनजर राख्दै भाडा छुुटसँगै समायोजन समेत गरिएको संस्थाका प्रमुख बाबुराम कार्कीले बताए ।‘वर्तमान विषम परिस्थती कहिलेसम्म रहन्छ भन्ने यकिन गर्न नसकिने भएकाले व्यवसायी र कोठाभाडामा बस्नेहरुका लागि एक वर्षको भाडा समेत समायोजन गरिएको छ ।’ प्रमुखले कार्कीले भने ‘साउन १ गतेदेखि लागु हुने गरी २०७८ असार मसान्तसम्मको लागि अहिले लिदै आएको भाडामा २०–२५ प्रतिशतसम्म समायोजन गरिएको हो ।’

संस्थाका कार्यक्रम अधिकृत विनोद भारतीका अनुसार सटर र कोठा भाडा लिएकाबाट मासिक भाडा ९२ हजार रुपैयाँ उठ्ने गर्दछ । दुई महिनाको भाडा छुट गरिएको हो । संस्थाले सबै भाडामा लगाएको ठाउँबाट वार्षिक ११ लाख ४ हजार रुपैयाँ हाराहारी भाडा संकलन गर्ने गरेको छ । उक्त भाडाबाट संकलित रकम संस्थाले प्रशासनिक र सामाजिक सेवामा खर्च गर्दै आएको छ । कोरोनाले असर गरेको भन्दै जिल्लाका व्यवसायीहरूले भाडा र बैंकसँग छुट मागिरहेका छन् भने कतिपयले भाडामा छुट गर्ने घोषणा समेत पनि गरिरहेका छन् ।

प्रकाशित मिति: बुधबार, असार २४, २०७७  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update