पाल्पा, लगातार भइरहेको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि पाल्पा जिल्ला प्रशासन कार्यालयले सिद्धार्थ राजमार्गअन्तर्गत दोभान–सिद्धबाबा सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी गरेको सूचना अनुसार २०८३ असोज ८ गतेदेखि असोज १२ गतेसम्म प्रत्येक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिनेछ ।
यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए । उनले एक सूचना जारी गर्दै हालको मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा निरन्तर वर्षा भइरहेको र आगामी केही दिनमा समेत भारी वर्षा हुनसक्ने नेपाल मौसम विज्ञान विभागको सूचनालाई मध्यनजर गर्दै यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न राति सवारी आवागमन बन्द गरिएको उल्लेख गरे । प्रशासनले वर्षाका कारण सडकमा पहिरो, बाढी तथा डुबानलगायत विपद्जन्य जोखिम उत्पन्न हुनसक्ने भएकाले रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । आपत्कालीन अवस्थामा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, सशस्त्र प्रहरी बल १११४ र जिल्ला आपत्कालीन केन्द्र १२३४ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । बितेको २४ घण्टामा पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै १६१ मिलिमिटर वर्षा भएको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै यहाँका स–साना खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना समेत रहेको छ ।


