पाल्पा, विश्वभर आज विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी विश्व अल्जाइमर्स दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन यो दिवस मनाउने गरिन्छ । उक्त दिवस सन् १९९४ देखि मनाउन थालिएको हो ।
दिवसको उद्देश्य अल्जाइमर्स रोग तथा डिमेन्सियाबारे जनचेतना फैलाउनु, रोगी तथा उनीहरूका परिवारले भोगिरहेका समस्याप्रति समाजको ध्यानाकर्षण गराउनु र समयमै उपचार तथा हेरचाहका लागि प्रेरित गर्नु हो । अल्जाइमर्स रोग स्मरणशक्ति, सोच्ने क्षमता र दैनिक जीवनका सामान्य गतिविधिमा असर पार्ने प्रगतिशील मस्तिष्कसम्बन्धी रोग हो । उमेर बढ्दै जाँदा यसको जोखिम बढ्ने भए पनि यसलाई सामान्य बुढ्यौलीको हिस्सा मात्र मान्न नहुने चिकित्सकहरू बताउँछन् । रोगका कारण व्यक्तिले हालसालैका घटना बिर्सने, परिचित व्यक्ति तथा स्थान चिन्न कठिन हुने, दैनिक काम गर्न समस्या हुने, बोली तथा व्यवहारमा परिवर्तन आउनेजस्ता समस्या देखिन सक्छन् । प्रारम्भिक अवस्थामा लक्षण पहिचान गरी स्वास्थ्यकर्मीको परामर्श लिन सके रोग व्यवस्थापन तथा बिरामीको जीवनस्तर सुधार गर्न सहयोग पुग्ने विशेषज्ञहरूको भनाइ छ । नेपालमा पनि ज्येष्ठ नागरिकको संख्या बढ्दै जाँदा डिमेन्सिया तथा अल्जाइमर्ससम्बन्धी समस्या स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण विषय बन्दै गएको छ ।
तर यससम्बन्धी जनचेतनाको कमी, रोग पहिचानमा ढिलाइ तथा उपचार र हेरचाहका लागि आवश्यक स्रोतसाधनको अभाव चुनौतीका रूपमा रहेको छ । अल्जाइमर्सबाट प्रभावित व्यक्तिको हेरचाहमा परिवारको भूमिका महत्वपूर्ण हुन्छ । बिरामीप्रति धैर्य, सम्मान र सहानुभूतिपूर्ण व्यवहार गर्नुका साथै सुरक्षित वातावरण निर्माण गर्नुपर्ने स्वास्थ्यकर्मीहरूको सुझाव छ । त्यस्तै, परिवारका सदस्य तथा हेरचाहकर्ताको मानसिक र सामाजिक अवस्थालाई पनि ध्यान दिन आवश्यक रहेको बताइन्छ । अल्जाइमर्स जसलाई बिर्सिने रोगका रुपमा बुझ्ने गरिन्छ । नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन् । विश्वमा हरेक वर्ष एक करोड व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ । विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ ।


