Shittalpati
बदलिँदो तीज : हराउँदै पुराना भाका, बढ्दै भड्किलोपन

पाल्पा, कुनै समय तिज आउनु भनेको माइतीघरको बाटो सम्झनु, चेलीबेटी लिन दाजुभाइ गाउँघरका उकाली–ओराली काट्नु र आँगनमा जम्मा भएर दुःख–सुखका गीत गाउँदै रात बिताउनु थियो । भदौरे झरीमा खोला–खहरेको भेल छिचोल्दै माइती पुग्दा चेलीका लागि त्यो खुसीको क्षण हुन्थ्यो । तर समयसँगै तीज मनाउने शैली फेरिएको छ ।

गाउँ–गाउँमा यातायात र हातहातमा मोबाइल पुगेपछि चेलीबेटी लिन माइती नै पुग्नुपर्ने परम्परा घटेको छ । त्यति मात्र होइन तीजमा चेलीले गीतमार्फत आफ्नो बेदनाहरु पोख्थे र व्रतको अघिल्लो दिन  पेट अडिलो बनाउन पौष्टि तत्व भएका खानेकुराहरु दरको रुपमा  खाने गर्थे । तर  यी सबै कुरा अहिले फेरिएका छन् । आँगन, चौतारा र गुन्द्रीमा मादलको तालमा गाइने पुराना तिज गीतको ठाउँ होटल, पार्टी प्यालेस र रेकर्ड गरिएका गीतले लिन थालेका छन् । माथागढी झडेवाकी ७४ वर्षीया शिव थापा अहिले पनि पुरानो तीज सम्झन्छिन् । “त्यतिबेला गाउँमा मोटर चल्ने सडक थिएन । चेलीबेटी लिन माइती नै पैदल आउनुपथ्र्यो,” उनी भन्छिन् । उनका लागि तीजका गीत केवल मनोरञ्जन थिएनन्, वर्षभरि कर्मघरमा भोगेका पीडा, माइतीको सम्झना र मनका कुरा पोख्ने माध्यम थिए । त्यो समयका गीतमा सासू–बुहारीको सम्बन्ध, माइतीको सम्झना, दिदीबहिनीका पीडा र महिलाका गुनासा समेटिन्थे । “वर्ष दिनको तीजमा दादा लिन आएका, पापिनी सासुले दिनन् बरिलै” जस्ता भाकाले महिलाका मनका कुरा बोल्थे । गाउँका आँगन, चौतारा र दियालोको उज्यालोमा मादलको तालसँगै सामूहिक रूपमा गाइने ती भाका अहिले विरलै सुनिन्छन् । रैनादेवी छहराकी ५८ वर्षीया सुन्तली नेपालीलाई पुराना तीज गीत सम्झँदा अझै रमाइलो लाग्छ । तर अहिलेका कतिपय गीतप्रति उनको गुनासो छ । “अहिलेको तीज त तीजजस्तो लाग्दैन, उच्छृङ्गलता र देखासिकी बढेको छ,” उनी भन्छिन् ।

बगनासकालीकी ७५ वर्षीया कमला बस्याल तीजको मौलिकता हराउँदै गएकोमा चिन्ता व्यक्त गर्छिन् । उनी भन्छिन्, “बर्खा (असार–साउन)मा कामले लखतरान बनाउँथ्यो । भदौमा भने अलिक फुर्सद मिल्थ्यो । मनमा एक खालको उम· छाउँथ्यो । धानका गाभा हरियो बन्दै जान्थे । खोलानाला उर्लिरहेकै हुन्थे । त्यो बेला बहिनीलाई दर खुवाउने निम्तो लिएर माइतबाट दाइ टुप्लुक्क आइपुग्थे । तब कोसेलीपात बोकेर माइत गइन्थ्यो तर आजभोलि भने त्यस्तो छैन ।” उहिलेको तीज र अहिलेको तीजमा धेरै नै फरक आएको बस्यालको बुझाई छ । उनी भन्छिन् “उहिले उहिले त हुने खानेले मिठो मसिनो र नहुनेले आफुसँग जे छ त्यही मिठो बनाएर खाने गरिन्थ्यो, अहिले जस्तो महिनादिन अघिदेखि नै दर खाने चलन थिएन ।” पहिले घिउमा पकाएको खाजा, खीर, दूध, दही, चाम्रे, तामा–टुसाको तरकारी र अचारजस्ता परिकार माइतीको आँगनमै बसेर खाने चलन थियो । अहिले होटल तथा पार्टी प्यालेसमा ठूलो खर्च गरेर दर खाने र महँगा गहना तथा पहिरन प्रदर्शन गर्ने क्रम बढेको छ । तीज आउनुअघि नै महिनौँसम्म दर खाने कार्यक्रम चल्न थालेका छन् । ‘हुनेले मिठो मसिनो, नहुनेले पिठो मसिनो’ खाने पर्व थियो तीज ।

सात डाँडापारी विवाह गरी पठाएका चेलीबेटीलाई बाबा आमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मिठोमसिनो खाने खुवाउने, असल भाइचाराको गाँठो कसिलो बनाउने, चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरू बेला नभए पनि यो बेला माइत पठाउनै पर्ने पर्व थियो तीज । सायद, यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरूलाई । तर, आज यो अवस्था रहेन । हुने खानेहरूलाई त यसले राम्रै गर्ला तर, हुँदा खाने नेपाली समाजका अन्य महिलाहरूलाई भने यो अनावश्यक तडकभडक र देखासिकीले नकारात्मक असर पार्ने गरेको छ । गाउँबेंसीमा चेलीबेटीका दुखेसो बोकेका गीत, हतारहतार काम सकेर चेलीबेटी लिन हिँडेका माइती, घर–घरमा पाक्ने अनदीको लट्टे, खीर, तामा(टुसाको तरकारी र काँक्राको अचार अनि रातभरि नाँचगान गर्दै खाइने दर ! त्यसपछि भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा ! यही हो हाम्रो तीजको मौलिकता । तर अहिले यो मौलिक पर्व केही सम्भ्रान्त र नवधनाढ्य वर्गका महिलाले आर्थिक हैसियत प्रदर्शन गर्न र सस्तो मनोरञ्जनका लागि गरिने भड्किलोपनका कारण अलोकप्रिय तथा आलोच्य बनिरहेको छ । प्राध्यापक इन्दिरा आचार्यका अनुसार पहिले तीजका गीत महिलाका भावना, पीडा र अधिकारका आवाज थिए । 

अब तीजलाई आधुनिक बनाउँदै लैजाँदा पनि त्यसको मौलिक सांस्कृतिक पक्ष बिर्सन नहुने उनको सुझाव छ । तीज समयसँगै बदलिनु स्वाभाविक हो । तर परिवर्तनका नाममा मौलिक भाका, सामूहिकता र चेली–माइतीबीचको आत्मीयता हराउँदै जाने हो भने तीजको वास्तविक स्वाद नै हराउने खतरा छ । त्यसैले होटलको भोज र आधुनिक गीतसँगै आँगनको तीज, मौलिक भाका र मनका कुरा साट्ने संस्कारलाई पनि बचाइराख्नु आजको आवश्यकता हो ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update