मानव बेचबिखन भन्नाले आधारभूत मानव अधिकारको उल्लङ्घन, दासत्वको अवस्था, मानवताविरुद्धको बहुराष्ट्रिय सङ्गठित अपराध हो । यसलाई अशिक्षा, बेरोजगारी, गरिबी, जनचेतनाको कमी, घरेलु हिंसा, पारिवारिक झगडा, लैङ्गिक तथा जातीय विभेद, दण्डहीनतालगायतले मलजल गर्छ । मानव बेचबिखनविरुद्ध सचेतना फैलाउने, पीडितको संरक्षण गर्ने र अपराधमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन हरेक वर्ष सेप्टेम्बर ५ अर्थात् भदौ २० मा मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउने गरिन्छ । दिवस मनाउनुको उद्देश्य केवल औपचारिक कार्यक्रम गर्नु नभई समाजमा रहेका जोखिम र त्यसबाट बच्ने उपायबारे नागरिकलाई सचेत बनाउनु हो । तर मानव बेचबिखन डरलाग्दो रूपमा बढ्दो छ ।
विश्वमा नै श्रमको शोषण गर्ने तथा इच्छाविरुद्धको काममा लगाउने गरेका घटना भइरहेका छन् । एक्काइसौँ शताब्दीमा हातहतियारपछि मानव तस्करी नै व्यवसायको रूपमा फस्टाइरहेको देखिन्छ । नेपालमा गरिबी, बेरोजगारी, अशिक्षा, वैदेशिक रोजगारीको आकर्षण, सामाजिक असमानता र कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै विभिन्न बहानामा मानिसलाई बेचबिखन तथा शोषणमा पार्ने घटना हुने गरेका छन् । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग गरी चिनजान बढाउने, रोजगारी वा वैदेशिक अवसरको प्रलोभन दिने र अन्ततः शोषणमा पार्ने प्रवृत्तिसमेत चुनौतीका रूपमा देखिएको छ । महिला तथा बालबालिका बढी जोखिममा रहे पनि मानव बेचबिखनको समस्या कुनै एक वर्ग वा समुदायमा मात्र सीमित छैन ।
मानव बेचबिखन नियन्त्रणका लागि कानुन हुनु मात्र पर्याप्त हुँदैन । प्रभावकारी कार्यान्वयन, सीमावर्ती क्षेत्रमा निगरानी, जोखिममा रहेका समुदायमा सचेतना, सुरक्षित वैदेशिक रोजगारीको व्यवस्था तथा पीडितको उद्धार र पुनःस्थापनालाई प्राथमिकता दिन आवश्यक छ । पीडितलाई दोषीझैँ व्यवहार गर्ने होइन, उनीहरूको सम्मान, सुरक्षा र पुनःस्थापनाको सुनिश्चितता राज्यको दायित्व हो ।यसका लागि तीनै तहका सरकार, सुरक्षा निकाय, स्थानीय समुदाय, विद्यालय, सञ्चारमाध्यम तथा सामाजिक संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक छ । परिवार र समाजले पनि अपरिचित व्यक्तिको आकर्षक प्रस्ताव, अनलाइन सम्पर्क तथा वैदेशिक रोजगारीका नाममा हुने शंकास्पद गतिविधिप्रति सजग हुनुपर्छ । शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउनु नागरिकको महत्वपूर्ण जिम्मेवारी हो । मानव बेचबिखनविरुद्धको अभियान कुनै एक दिनको कार्यक्रमले सफल हुँदैन । यसका लागि निरन्तर सचेतना, प्रभावकारी कानुनी कार्यान्वयन र सामाजिक प्रतिबद्धता आवश्यक छ । मानिसलाई वस्तुका रूपमा हेर्ने र बेच्ने अपराधविरुद्ध राज्य कठोर बन्नैपर्छ । साथै, पीडितलाई न्याय र सम्मानपूर्वक पुनःस्थापित गर्ने वातावरण निर्माण गर्नुपर्छ । मानव बेचबिखनमुक्त समाज निर्माण गर्नु सरकारको मात्र होइन, हामी सबैको साझा जिम्मेवारी हो । त्यसैले यस दिवसलाई औपचारिकतामा सीमित नराखी ‘मानव बेचबिखन रोकौँ, मानवताको रक्षा गरौ’ँ भन्ने संकल्पका साथ अघि बढौँ ।
