पाल्पा, पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सडक चार घण्टापछि सञ्चालनमा आएको छ । बुधबार बिहान सडक माथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध बनेको सडक पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको हो ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको थियो । पहिरोसँगै ढुंगा, माटो र लेदो सडकमा थुप्रिएपछि राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो । सडक माथिबाट निरन्तर पहिरो झरिरहेका कारण तत्कालै पहिरो हटाउने काम सुरु गर्न सक्ने अवस्था नभएपछि पहिरो रोकिएलगत्तै डोजर परिचालन गरी सडकमा थुप्रिएको माटो, ढुंगा र लेदो हटाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । सडक अवरुद्ध हुँदा तराईबाट पहाडतर्फ जाने तथा पहाडबाट तराईतर्फ झर्ने सयौँ सवारीसाधन बाटोमै रोकिएका थिए ।
सडक सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाड जाने र पहाडबाट तराई झरेका सवारी साधन बाटोमै रोकिएका थिए । यो सडक भएर पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, कास्की, पर्वत, म्याग्दी, मुस्ताङ, बाग्लुङसम्मका सवारी साधन सञ्चालन हुन्छन् । यहाँ पानी पर्न साथ पहिरो जाने गर्दछ । यो समाचार तयार पार्दसम्म सडक सञ्चालनमा छ । प्रहरीले सिद्धबाबा क्षेत्र पहिरोको उच्च जोखिममा रहेको क्षेत्र भएकाले यात्रा गर्दा सर्तकता अपनाउन आग्रह गरेको छ । निरन्तर पहिरो झरिरहेको अवस्थामा उद्धार तथा सडक सफाइमा खटिने जनशक्तिको सुरक्षालाई समेत प्राथमिकतामा राखिएको छ ।


