Shittalpati
पहिरो हटाइएपछि पाल्पा–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालनमा

पाल्पा, पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सडक चार घण्टापछि सञ्चालनमा आएको छ । बुधबार बिहान सडक माथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध बनेको सडक पहिरो हटाएपछि दुईतर्फी सञ्चालनमा आएको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका–३ स्थित सिद्धबाबा सुरुङमार्गको पाल्पातर्फबाट प्रवेश गर्ने बिन्दुभन्दा करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको थियो । पहिरोसँगै ढुंगा, माटो र लेदो सडकमा थुप्रिएपछि राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो । सडक माथिबाट निरन्तर पहिरो झरिरहेका कारण तत्कालै पहिरो हटाउने काम सुरु गर्न सक्ने अवस्था नभएपछि पहिरो रोकिएलगत्तै डोजर परिचालन गरी सडकमा थुप्रिएको माटो, ढुंगा र लेदो हटाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा तराईबाट पहाडतर्फ जाने तथा पहाडबाट तराईतर्फ झर्ने सयौँ सवारीसाधन बाटोमै रोकिएका थिए । सडक सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update