Shittalpati
साउन १५ र खिर खाने परम्परा

नेपाली समाजमा साउन १५ लाई “खिर खाने दिन” का रूपमा विशेष महत्वका साथ मनाइन्छ । वर्षायामको मध्य समयमा पर्ने यस दिन परिवारका सदस्यहरू एकै ठाउँमा बसेर खीर खाने परम्पराले नेपाली संस्कृतिको मौलिकता, पारिवारिक सद्भाव र सामाजिक एकताको सन्देश दिन्छ ।

यो परम्परा निकै पुरानो छ । नेपाली समाजमा धार्मिक आस्था, कृषि संस्कृति र सामाजिक सद्भावसँग जोडिएको यो परम्पराले आज पनि आफ्नो मौलिकता कायम राखेको छ । आधुनिक जीवनशैलीका कारण परम्परागत संस्कारहरू क्रमशः कमजोर बन्दै गएका बेला यस्ता सांस्कृतिक अभ्यासहरूको संरक्षण झन् आवश्यक बनेको छ । खिर नेपाली समाजमा शुभ, पवित्र र समृद्धिको प्रतीक मानिन्छ । दूध, चामल, चिनी र सुक्खा फलफूलजस्ता पोषिलो सामग्रीबाट तयार गरिने खीरले शरीरलाई आवश्यक ऊर्जा र पोषण प्रदान गर्ने विश्वास पनि छ । कृषिप्रधान समाजमा वर्षायामका कठिन श्रमबीच परिवारसँग बसेर पोषिलो भोजन ग्रहण गर्ने चलनले स्वास्थ्य र आत्मीयता दुवैलाई बलियो बनाउने उद्देश्य बोकेको देखिन्छ । तर पछिल्ला वर्षहरूमा साउन १५ को महत्व केवल सामाजिक सञ्जालमा तस्बिर साझा गर्ने वा औपचारिकतामा सीमित हुने प्रवृत्ति पनि बढ्दै गएको छ । परम्पराको वास्तविक मर्म बुझेर त्यसलाई व्यवहारमा उतार्नु आवश्यक छ । हुन त साउन महिनाभर खिर खानु राम्रो हुने विश्वास रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषिकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको हो । साउन महिना वर्षात समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खीर खाने गरेको पाइन्छ । साउन १५ को खिर खाने परम्परा पनि त्यही अमूल्य सम्पदामध्ये एक हो । यसको संरक्षण केवल परम्परा निभाउनु मात्र होइन, हाम्रो सांस्कृतिक पहिचान, कृषि सभ्यता र सामाजिक मूल्य–मान्यताको संरक्षण गर्नु पनि हो । त्यसैले साउन १५ लाई औपचारिकतामा सीमित नगरी यसको सांस्कृतिक, सामाजिक र स्वास्थ्यसम्बन्धी सन्देशलाई आत्मसात् गर्दै मनाउनु आजको आवश्यकता हो ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update