Shittalpati
बाघ संरक्षणमा चुनौती

बाघ स्वस्थ पारिस्थिकीय प्रणालीको सूचक र प्राकृतिक खाद्य शृङ्खलाको उच्च तहमा रहेको महत्वपूर्ण प्रजाति हो । यसलाई जगंलको राजा पनि भन्ने गरिन्छ । जैविक विविधता संरक्षणका क्षेत्रमा बाघको महत्वपूर्ण भूमिका रहने गर्दछ । तर पछिल्लो समय वन्यजन्तुमैत्री पूर्वाधार निर्माण नहुँदा वासस्थानमा आएको संकुचनका कारण र संख्यामा भएको वृद्धिले आहाराको खोजीमा बाघ मानवबस्तीसम्म पुग्दा मानवसँगको बढ्दो द्वन्द्व बाघ संरक्षणको प्रमुख चुनौती बनेको छ । बाघको आक्रमणमा परेर अहिले धेरैले ज्यानसमेत गुमाउन पुगेको तथ्याङ्कहरु बाहिर आइरहेका छन् ।

तत्कालीन समयमा बाघको संख्या तीव्र रूपमा घट्दै गएको अवस्थालाई रोक्न र तिनको प्राकृतिक बासस्थानको संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष जुलाई महिनाको २९ मा बाघ दिवस मनाउने गरिएको छ । यस वर्षको दिवस बुधबार मनाइएको छ । विश्वको तुलनामा नेपालमा बाघको संख्यामा केही वृद्धि भएको छ ।  नेपालमा २०८२ को गणनाअनुसार बाघको संख्या ४२९ पुगेको छ । सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको संख्या ३५५ थियो । सरकार, संरक्षणकर्मी, स्थानीय समुदाय र विभिन्न संघसंस्थाको संयुक्त प्रयासका कारण नेपालले बाघको संख्या उल्लेखनीय रूपमा बढाउन सफलता हासिल गरेको छ । यो उपलब्धि गौरवको विषय भए पनि चुनौतीहरू भने अझै समाप्त भएका छैनन् । वन विनाश, अवैध सिकार, मानव–वन्यजन्तु द्वन्द्व तथा जलवायु परिवर्तनले बाघको भविष्यलाई निरन्तर जोखिममा पारिरहेका छन् । बाघ संरक्षण केवल सरकारको मात्र जिम्मेवारी होइन । वन क्षेत्रको संरक्षण, अवैध वन्यजन्तु व्यापारको नियन्त्रण, स्थानीय समुदायको सहभागिता तथा वातावरणमैत्री विकास नीति अपनाउनु सबैको साझा दायित्व हो । विद्यालय, सञ्चारमाध्यम र सामाजिक संस्थाले पनि संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । प्रकृतिसँगको मानव सम्बन्ध जति बलियो हुन्छ, मानव जीवन त्यति नै सुरक्षित र समृद्ध हुन्छ भन्ने सन्देश यो बाघ दिवसले दिने गर्दछ । त्यसैले भावी पुस्तालाई हराभरा वन, जैविक विविधता र सुरक्षित बाघ हस्तान्तरण गर्न आजैदेखि जिम्मेवार बन्न आवश्यक छ । बाघ जोगाऔँ, वन जोगाऔँ र प्रकृतिको सन्तुलन कायम राख्दै समृद्ध भविष्य निर्माण गरौँ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update