Shittalpati
कहाँ हराए बकुल्ला ? 

पाल्पा, बिहानको शान्त वातावरणमा खेतबारी, नदी किनार र सिमसार क्षेत्रमा सेतो शरीर र लामो घाँटी फैलाउँदै बकुल्ला देखिनु कुनै समय सामान्य दृश्य थियो । तर अहिले त्यही दृश्य क्रमशः दुर्लभ बन्दै गएको छ । केही वर्षअघिसम्म खेत जोत्दा किसानका पछि–पछि हिँड्ने, पानीमा माछा र भ्यागुता खोज्दै रमाउने बकुल्ला आज कहाँ हराए भन्ने प्रश्न धेरैको मनमा उब्जिन थालेको छ ।
    
एक दशक अघिसम्म पाल्पाको अन्नको भण्डारको रुपमा रहेको माडीफाँटमा बेलुकीको समयमा आफ्नो आहारा खोजेर टाढा टाढाबाट बकुल्ला बासमा फर्किदा हुलै सित लाइनबद्ध भएर आउने गरेको दमकडाका प्रकाश नेपाल सम्झन्छन् । उनी भन्छन् “मालचराको झल्को नै दिने गरी आउने ति बकुल्ला पछिल्लो समय एकाएक कहाँ गए कसैलाई पत्तो छैन । ” बर, पिपल, स्वामी, सिमल जस्ता अग्ला अग्ला रुखहरुमा सेताम्ये देखिने बकुल्लाहरु एकाएक हराउँदै गएको नेपालले बताए ।  उनले भने “ जब–जब फाँटहरुमा धान रोप्ने समय हुन्छ तब बकुल्लाहरु खेतका छेउछाउँमा सेताम्मै देखिन्थे, तिनीहरु धान नकाट्दासम खेतमै देखिन्थे तर हिजो आज भने देख्नै छैन ।” बकुल्लाले पानीभित्र माछा तथा चिस्यानमा बस्ने भ्यागुता, गंगटा, साना –साना सर्पहरुको शिकार गर्ने गर्छन् । हिजो आज खोला र सिमसारहरु नै मासिदै जाँदा तिनीहरु पनि हराउँदै गएको नेपालको भनाई छ ।

 “पहिले–पहिले यहाँका सिमलका रुखहरु कुनै खाली नै हुँदैन थिए । सबैमा सेताम्य भएर बास बसेको देखिन्थ्यो । यी एकाएक हराएको धेरै भएको छैन ” उनले भने “अन्न बालीमा विषादीको प्रयोगका कारण माछा पाउनै कठिन भयो र आहारामा कमी आएकोले एक/एक गरी संख्यामा कमी आउँदै गएको हो ।” ७/८ वर्ष अघिसम्म अर्गलीका फाँटहरुमा पनि बकुल्लाहरु प्रसस्त देखिन्थे । तर हिजो आज भने एक/ दुई वटा बाहेक देख्न पाइँदैन । धान रोपाइँ सकेपछि हरेक खेतका आलीहरुमा सयौंको संख्यामा देखिने बकुल्लाहरु आजभोली देख्न छोडिएको स्थानीय मेघराज पौडेलले बताए ।

उनले भने “असार, साउनको महिनामा खेतभरी बकुल्लाहरु देखिन्थे, जसले गर्दा फाँट नै रमणीय हुन्थ्यो, हिजो आज भने छिट्टफुट्ट रुपमा एक/दुई वटा मात्र देखिन्छन् ।” एक दशक अघि सम्म बर्खा लागेपछि पाल्पाका फाँट र सिमसारहरुमा देखिने बकुल्ल हिजो आज भने देखिन छोडेका छन् । यहाँका माडीफाँट, अर्गली, रामपुर पूर्वखोला जस्ता फाँट र स–साना खोलाका किनारामा देखिने हाँस प्रजातिका सेतो बकुल्लाहरु आहारको अभावमा यति बेला देख्न पाइँदैन । यिनीहरु पोखरी, नदी, धानखेत र दलदल क्षेत्रमा पाइने साना माछा, भ्यागुता, कीरा तथा अन्य जलचर खाएर वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ । कृषिमा हानिकारक कीरा नियन्त्रण गर्न समेत यसले अप्रत्यक्ष सहयोग पु¥याउने भएकाले बकुल्ला किसानको साथीका रूपमा पनि चिनिन्छ । तर पछिल्ला वर्षहरूमा सिमसार क्षेत्र मासिँदै जानु बकुल्लाका लागि ठूलो चुनौती बनेको छ ।

 नयाँ सडक, भवन निर्माण र सहरी विस्तारका कारण प्राकृतिक बासस्थान नष्ट भइरहेका छन् । त्यसमाथि कृषि क्षेत्रमा प्रयोग हुने विषादी पानीमार्फत सिमसारमा पुग्दा बकुल्लाको आहारा घट्नुका साथै यसको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । जलवायु परिवर्तनले पनि बकुल्लाको जीवनचक्रमा प्रभाव पारिरहेको छ । वर्षाको अनियमितता, पानीका स्रोत सुक्नु र तापक्रम वृद्धि हुँदा चराले सुरक्षित बासस्थान र पर्याप्त आहारा पाउन कठिनाइ भइरहेको छ । पक्षी संरक्षणमा संलग्न विज्ञहरूका अनुसार बकुल्लाको संरक्षणका लागि सिमसार क्षेत्र जोगाउनु सबैभन्दा महत्वपूर्ण उपाय हो ।

नदी, पोखरी र तालतलैयाको संरक्षण, रासायनिक विषादीको प्रयोगमा कमी, वृक्षारोपण तथा जनचेतना अभिवृद्धि गरिएमा यसको बासस्थान सुरक्षित रहन सक्छ । प्रकृतिको सुन्दरतासँगै जैविक विविधताको महत्वपूर्ण सदस्य बकुल्ला हराउँदै जानु एउटा चराको मात्र समस्या होइन, यो सम्पूर्ण पारिस्थितिक प्रणाली कमजोर बन्दै गएको संकेत पनि हो । त्यसैले बकुल्लाको संरक्षण गर्नु भनेको सिमसार, जैविक विविधता र भावी पुस्ताका लागि स्वस्थ वातावरण जोगाउनु हो । समयमै प्रभावकारी संरक्षणका उपाय अवलम्बन गर्न सकिएन भने भविष्यमा बकुल्ला केवल पुस्तकका तस्बिर र सम्झनामा सीमित हुने खतरा बढ्दै जानेछ ।

प्रकाशित मिति: सोमबार, साउन ११, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update