पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–३ छहरागैरास्थित सिद्धार्थ राजमार्गमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुधबार राति भएको बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिप्पर अनियन्त्रित भई दुर्घटना हुँदा चालक तिनाउ गाउँपालिका–३ सिसुवा निवासी ३५ वर्षीय हेमबहादुर लम्तरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको बुटवलस्थित मर्चवार सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टिपर सडकबाट करिब १२० मिटर तल खोलामा खसेको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोभानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक खिलबहादुर रानाको कमाण्डमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले घाइते चालकको उद्धार गरी उपचारका लागि बुटवल पठाएको थियो । उपचारकै क्रममा राति ११ः५४ बजे चिकित्सकले चालकलाई मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


